पुँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिष्पर्धी बनाई पुँजी परिचालक तथा लगानीकर्ताका लागि पहुँच बढाउने, त्यसलाई विश्वसनीय बनाउने, लगानीकर्ताको हित संरक्षण गर्ने लगायत समग्र पुँजीबजारको नियमन तथा सुपरिवेक्षण गर्ने प्रमुख जिम्मेवारी बोकेको नेपाल धितोपत्र बोर्ड स्थापनाको २७ वर्ष पुरा गरी २८ औं वर्षमा प्रवेश गरेको छ । पछिल्लो समय पुँजी बजारप्रति आम लगानीकर्ताको आकर्षण बढिररहेका बेला यसको नियामक निकाय धितोपत्र बोर्डको भूमिका पनि महत्वपूर्ण रहनु स्वाभाबिकै छ । यसअघि धितोपत्र बोर्डको विज्ञ सञ्चालकको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानासँग नेपालमा पूँजी बजारको बिकास, समस्या र सम्भावनामा केन्द्रित रहेर गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले गर्नुभएको कुराकानीः
नेपालमा धितोपत्र बजारको विकास र यसको प्रवद्र्धनमा बोर्डको प्रयासलाई कसरी समीक्षा गर्नुहुन्छ ?
धितोपत्र बोर्डको स्थापना गर्दा यसलाई तीन चार वटा जिम्मेवारी दिइएको छ । त्यसमा आर्थिक विकासको लागि पुँजी परिचालन गर्ने र पुँजी बजारको विकास गर्ने, लगानीकर्ताको हित संरक्षण, धितोपत्र निष्काशन, खरिदबिक्री तथा यसको विनिमयलाई व्यवस्थित बनाउने, धितोपत्र बजारको काम कारबाही, नियमन र व्यवस्थापन गर्ने अनि वस्तु विनिमय बजार नियमन र व्यवस्थापन गर्ने, क्रेडिट रेटिङ व्यवसायको प्रवद्र्धन गर्ने, इजाजत नियमन र व्यवस्थापन गर्ने जिम्मेवारी मुख्य छन । यहि जिम्मेवारी सहितको कार्यक्षेत्रभित्र रहेर हामी अगाडि बढिरहेका छौँ ।
नेपाल धितोपत्र बोर्ड स्थापनाको अहिले २७ वर्ष पुरा गरि २८ औँ वर्षमा लागेको छ । यो अवधिमा यसले धेरै उतारचढाव ब्यहोरेको छ । त्यसबेला सेक्युरीटि खरिद विक्री केन्द्रबाट नेपालको पुँजी बजार कारोबार शुरु भएकोमा अहिले नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडिएस, मर्चेन्ट बैंकर, डिपी एबं आस्वा सदस्यहरुको निक्कै ठुलो सञ्जाल बनेको छ । अहिले झण्डै सवा दुईसय वटा संगठित संस्थालाई यसले नियमन गरिहेको छ । त्यसैले गर्दा यसको दायरा अहिले धेरै फराकिलो बनेको छ । धितोपत्र बजारको विकासका लागि विगतमा भएका प्रयासको सम्वद्र्धन गर्दै अझै धेरै कुरा गर्न बाँकी नै छ । पुँजी बजारको नियामक संस्था भएको हिसाबले बजारमा कसरी स्थिरता ल्याउने भन्ने प्रमुख चुनौति हामीलाई छ ।
बजार भन्ने वित्तिकै हाम्रो दिमागमा एउटा मुद्रा बजार अर्को पुँजी बजार आउँछ । मुद्रा बजार नेपाल राष्ट्र बैंकले नियमन गर्दछ र पुँजी बजार धितोपत्र बोर्डले । यी दुईवटै बजारको बीचमा ठुलो अन्तरसम्बन्ध हुन्छ । मुलुकको आर्थिक विकासमा यी दुई वटै बजारको समानुपातिक विकास भएर जानुपर्छ ।
पूँजी बजारमा अहिलेका मुख्य चुनौती के के देख्नु भएको छ ?
...





