काठमाडौं : मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने प्रस्ताव पारित भएको छ । दुवै बैंकको बुधबार सम्पन्न विशेष साधारण सभाले गण्डकी विकास बैंकलाई मेगाले एक्वायर गर्ने प्रस्ताव पारित गरेको हो । सभाले एक्वायर सम्बन्धी यसअघि गरिएको सम्झौता अनुमोदन पनि गरेको छ । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई सभाले अन्तिम स्वीकृति दिएको छ ।
यसर्थ, गण्डकीको १०० सय कित्ता सेयर हुनेले अब मेगाको नाममा १०० कित्ता सेयर पाउनेछन् । गण्डकीलाई प्राप्ति गरेपछि मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ । त्यस्तै, निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ९ अर्ब भन्दा बढी हुनेछ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या २०६ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम १४२ वटा हुनेछन् ।