चीनले सन् २०२२ मा एक डिजिटल युआन मुद्रा ल्याउन चाहन्छ, जसको नाम हो इ–आरएमबी । सन् २०२२ मा चीन जाने मानिसहरुले यहीँ नयाँ डिजिटल मुद्रामा किनमेल वा लेनदेन गर्नुपर्ने हुनसक्छ ।
यो यस्तो मुद्रा हुनेछ जुन देख्न सकिँदैन, न त यसलाई अन्य नोटजस्तै हातमा समाउन सकिनेछ । यो कुनै कल्पना होइन ।
एउटा समय यस्तो आयो, जहाँ दुनियाँका सबै देश कोरोना भाइरसको संक्रमणसँग जुधिरहँदा चीनचाहिँ डिजिटल युआन मुद्रासम्बन्धी पाइलट प्रोजेक्ट सुरु गर्ने कार्यमा जुटिरहेको थियो ।
अघिल्लो महिना चीनको केन्द्रीय बैंक, पिपुल्स बैंक अफ चाइनाले चारवटा ठूला सहर, सेन्जेन, छेङ्दू, सुन्जो र जिओङगाङमा यो परियोजनामा काम सुरु गरिएको छ ।
उक्त परियोजनामा सरकारी कर्मचारीहरुको तलबको केही हिस्सा डिजिटल युआनमा भुक्तानी गरिनेछ ।
यो परियोजनामा म्याकडोनाल्ड, स्टारबक्सजस्ता विभिन्न २० निजी उद्योग व्यवसायहरुले पनि सहभागिता जनाएका छन् ।
यदि यो सफल भएमा सन् २०२२ मा शीतकालीन ओलम्पिकको अवधिसम्ममा चीन सरकारले पूरै देशभर यो डिजिटल मुद्रा जारी गर्न सक्नेछ ।
यद्यपि, यो चरणबद्ध तरिकाले गरिनेछ र यसमा केही वर्ष पनि लाग्न सक्छ ।
वास्तवमा यो परियोजनाका विषयमा सन् २०१४ मै काम सुरु भएको थियो । चीन यसलाई लागू गर्नमा निकै तीव्र ढंगले कार्य गरिरहेको छ ।
यसका तीनवटा मुख्य कारण छन् : अमेरिकासँग बढिरहेको व्यापार युद्ध, कोरोना भाइरसलाई लिएर अमेरिका तथा पश्चिमा मुलुकहरुले लगातार लगाइरहेको आरोप अनि फेसबुकले लिब्रा नामक डिजिटल मुद्रा यहीँ वर्ष ल्याउन गरिरहेको तयारी ।
आमूल परिवर्तन
डिजिटल युआनको आगमनलाई यस्तो घटना मानिएको छ जसले विश्वको विद्यमान सन्तुलनमै बदलाव ल्याइदिन सक्दछ । यो चीनको त्यस महत्त्वाकांक्षी परियोजनाको हिस्सा हो जसको उद्देश्य अमेरिकाको प्रभावलाई अन्त्य गर्नु र २१ औँ शताब्दीको एक शक्तिशाली देश भएर उभिनु हो ।
विशेषज्ञहरूका अनुसार, यसको सफल प्रयोगबाट १०/१५ वर्षमै एक एउटा नयाँ राजनीतिक तथा आर्थिक व्यवस्थाको प्रादुर्भाव हुनसक्दछ ।
भारतको नयाँदिल्लीस्थित फेर स्कूल अफ म्यानेजमेन्टका चीन विशेषज्ञ डाक्टर फैसल अहमद भन्छन्, ‘भारत र अमेरिका पनि क्रमशः लक्ष्मी र डिजिटल डलर नामका आफ्ना डिजिटल मुद्राहरुको तयारी गरिरहेका छन् । तर अहिलेसम्म यो वास्तविकताभन्दा निकै टाढा छ ।’
अमेरिकी डलर भर्सेस डिजिटल मुद्रा
...





