काठमाडौं । पछिल्लो समय नेपालमा अनलाइन तथा डिजिटल प्रविधि मार्फत कारोबार गर्नेहरूको संख्या बढिरहेको छ । कोरोना संकटसँगै सरकारले गरिरहेको लकडाउनको कारण प्रयोगकर्ताहरू बढिरहेका छन् भने डिजिटल कारोबारमा बढोत्तरी भएको छ । “डिजिटल पेमेन्टको भविष्य” का विषयमा शनिवार आयोजना गरिएको डिजिटल संवादमा सरोकारवालाहरूले राष्ट्र बैंकलाई इन्नोभेसनलाई प्रवद्र्धन गर्दै यसको मजबुत इकोसिस्टमको विकासमा ध्यान दिन सुझाव दिएका छन् ।
सरकारले जेष्ठ २ गते आर्थिक वर्ष २०७७र०७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा २ वर्षमा सरकारी कारोबार पूर्णरूपमा क्यासलेस बनाइने जनाएको छ । उक्त कार्यक्रममा विज्ञहरूले सरकारले ल्याएको क्यासलेस सोसाईटीको योजनालाई सफल पार्न राष्ट्र बैंकको पोलिसी र योजनाहरू नै परिमार्जित रूपमा आउनुपर्नेमा जोड दिएका छन् । विज्ञ अनलराज भट्टरार्ईले अब बैंकिङ प्रणाली ओपन बैंकिङ सिस्टममा जानुपर्ने बताए । उनले भने, ‘अहिले क्लिक अवेको समय हो, यसकारण राष्ट्र बैंकले कानूनी प्रावधानलाई समेत परिमार्जन गर्दै डिजिटल फर्मल सिस्टमको विकास गरिनुपर्दछ ।’
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बैंक लिमिटेडका पूर्व सिईओ तथा आइटी प्रमुख सुरेश कर्णले अब नेपाल सरकार र राष्ट्र बैंकले इन्नोभेसन र प्रविधिमा लगानी बढाउँदै यसको प्रद्र्धधन गरिनुपर्नेमा जोड दिए । कर्णले भने, ‘हामी विश्वमा आइरहेको प्रविधिलाई अवलोकन गर्दै एड्भान्स तथा सुरक्षित प्रविधिको प्रयोगतर्फ अघि बढ्नुपर्दछ ।’ एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले प्रविधिको प्रयोगमा हामी अझै संकुचित भएको भन्दै राष्ट्र बैंक अभिभावक जस्तो भएर आवश्यकता र प्रविधिको समायोजनमा जोड दिनुपर्ने बताए । डिजिटल पेमेन्टको इकोसिस्टम र पूर्वाधार विकासमा धेरै काम गर्नुपर्ने बताउँदै ढकालले सबै सेवा प्रदायकलाई ‘इक्वल ट्रिट’ गर्नुपर्ने सुझाव दिए ।
...





