काठमाडौं– एनआइसी एशिया बैंकले ऋणीहरुलाई जेठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
एनआइसीले नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २% ब्याज सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन गर्ने जनाएको छ ।
बैंकले २% ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ ।
कोभिड–१९ महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै यस बैंकले आफ्नै प्रयासबाट जेठ महिनाका लागि समेत १०% छुटको योजना लागू गर्ने सम्पूर्ण ग्राहकहरुलाई जानकारी गराएको छ ।
जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २% ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०% छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।







