काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबार बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि नगदरहित बैंकिङ कारोबारमा जोड दिने भएका छन् । पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट तथा प्रिपेड कार्डका ग्राहकको संख्या करीब १ करोड ८२ हजार पुगेको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय बैक तथा वित्तीय संस्थामा करीब ३ करोड ११ लाख १२ हजार निक्षेप खाता सञ्चालनमा छन् । यसमध्ये डिजिटल कारोबारमध्ये मोबाइल बैंकिङको प्रयोगकर्ता बढी छन् । कुल निक्षेपकर्तामध्ये ९८ लाख ६ हजार २३७ जना मोबाइल बैंकिङ प्रयोग गर्छन् । ७२ लाख १५ हजार ६ सय ४६ जना डेबिट कार्ड प्रयोगकर्ता छन् । बैंक तथा वित्तीय संस्थामा ९ लाख ६९ हजार ५५ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन् । क्रेडिट कार्डका प्रयोगकर्ता १ लाख ४६ हजार ८ सय ५६ जना छन् भने प्रिपेड कार्डका प्रयोगकर्ता ६३ हजार ७ सय ७५ जना छन् ।





