काठमाडौं । मुलुक लकडाउनमा रहेका बेला बैंक तथा वित्तीय संस्थाहरूबीच अनलाइन कारोबार गर्न तथा अनलाइनबाट नै नयाँ बचत तथा मुद्दती खाता खोल्ने सुविधा दिन प्रतिस्पर्धा चलेको छ ।
अधिकांश बैंकले लकडाउनअघि नै अनलाइन खाता खोल्ने सुविधा दिए पनि अहिले लकडाउनका बेलामा भने बैंक आउन तथा सेवा दिन असहज भएकाले अनलाइनबाट नै खाता खोल्न जोड दिएका छन् र अनलाइन खातालाई लक्षित गरी थप प्रचारप्रसार गरेका छन् ।
नेपालमा अनलाइनबाट खाता खोल्ने सुविधा नबिल बैंकले ८ वर्षअघि पहिलोपटक शुरू गरेको थियो । तर, अहिले लकडाउनमा भने अनलाइन खातालाई नै सबै बैंकले बढी प्राथमिकता दिएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । हाल नबिल बैंक, एनआईसी एशिया, सिटिजन्स बैंक, एनएमबी बैंकलगायतले अनलाइनबाट खोल्ने खातालाई प्रभावकारी गर्न थप प्रचारमा जुटेका हुन् ।
केही बैंकले दिँदै आएको यस्तो सुविधा विगतमा विदेशमा भएका नेपालीले बढी उपयोग गरेका थिए । नेपालभित्रका ग्राहकहरू भने बैंकमै गएर खाता खोल्ने प्रचलन बढी थियो । तर, लकडाउनका कारण ग्राहकहरू बैंकसम्म आइपुग्न नसक्ने भएकाले धेरै बैंकले अनलाइनबाट खाता खोल्ने दिने व्यवस्था मिलाएका छन् ।





