साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय केही दिनको हिरासत बसाइपछि धरौटीमा रिहा भए।
सामाजिक सञ्जालमा 'राष्ट्रपति, प्रधानमन्त्री एवम् धार्मिक सहिष्णुतामा खलल पुग्नेगरी' जथाभावी टिप्पणी गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरि काठमाण्डू जिल्ला अदालतमा पेश गरेको थियो।
लकडाउनकै अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको फोटोलाई काँटछाँट गरेर श्रीपेचसहितको फोटो र स्टाटस आफ्नो फेसबुक पोष्ट गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति पनि एक लाख दश हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
उच्च पदमा रहेका केही व्यक्तिहरू विरुद्ध प्रयोग गरिएका गालीगलौजयुक्त शब्द फेसबुकमा पोष्ट गरेको आरोपमा पक्राउ परेका एक युवा पनि २५ हजार धरौटीमा रिहा भएका छन्।
कोरोनाभाइरससम्बन्धी अफवाह नफैलाउन सरकारले गरेको आह्वानविपरीत महामारीका कारणले मृत्यु भएकोबारे गलत समाचार फैलाएको आरोपमा पक्राउ परेका अर्का युवा पनि हाल २५ हजार रुपैयाँ धरौटीमा छुटेका छन्।
सामाजिक सञ्जालको दुरुपयोग
कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनको अवधिमा गत चैत्र ११ गतेयता यस्तै प्रकृतिका झण्डै १९० वटा साइबर अपराधसम्बन्धी उजुरी परेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।
तीमध्ये १८० भन्दा बढी फेसबुकसँग सम्बन्धित रहेको र उक्त सङ्ख्या विगत महिनाहरूको तुलनामा झण्डै दोबर रहेको बताइएको छ।
ब्यूरोका अनुसार तीमध्ये केहीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत रहेर कारबाही गरिएको छ।
साइबर ब्यूरोका निर्देशक वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार प्राप्त उजुरीमध्ये अधिकांश सामाजिक सञ्जालको दुरुपयोग र चरित्रहत्यासँग सम्बन्धित छन्।
उनका अनुसार लकडाउनका अवधिमा फेसबुक, युट्यूब, ट्विटर, भाइबर, इमो, लगायतबाट धम्की दिने, गालीबेइज्जती गर्ने, अश्लील वा अन्य तस्बिर जोडेर चरित्रहत्या गर्ने जस्ता आपराधिक क्रियाकलाप बढेका हुन्।
इन्टरनेट र मोबाइल फोनको पहुँच
उनले भने, ''गाउँघरसम्म इन्टरनेट र मोबाइल फोनमा पहुँचमा वृद्धि भएको र लकडाउनको समयमा मानिसहरू धेरै फुर्सदिला बनेका कारण विद्युतीय अपराध बढी देखिएका छन्।''
लकडाउनको समयमा ५० प्रतिशतसम्मले इन्टरनेट खपतमा वृद्धि हुनु र ९५ प्रतिशत मोबाइल फोन प्रयोगकर्तासँग स्मार्टफोन रहेका कारणले पनि यसको दुरुपयोग बढेको प्रहरीको भनाइ छ।
इन्टरनेट र प्रविधिको बढ्दो दुरुपयोगका बीच अनुसन्धानमा भने अनेकौँ चुनौती थपिएको प्रहरीको अनुभव छ।
हाल प्राप्त उजुरीहरूबारे अनुसन्धान गर्दा अधिकांश घटनामा फेसबुकको दुरुपयोग भएको पाइएपनि प्रमाण जुटाउन भने निकै कठिन भएको अनुसन्धानकर्ताहरू बताउँछन्।
प्रमाण सङ्कलनमा कठिनाइ ...





