पोस्टपेड मोबाइलको बिलिङ प्रणाली बारे टेलिकमले पार्‍यो स्पष्ट


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
पोस्टपेड मोबाइलको बिलिङ प्रणाली बारे टेलिकमले पार्‍यो स्पष्ट

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलको बिलिङ प्रणाली सम्बन्धमा ग्राहकहरुमा केही भ्रम रहेको पाइएकाले यसबारे प्रस्ट पारेको छ । 

पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ ।

बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल १४२५ रुपैयाँ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये १४२५ रुपैयाँ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ ।

 अनबिल्ड अमाउन्ट

पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ ।

यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ ।

उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट २४८ रुपैयाँ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम २४८ रुपैयाँ छ भन्ने बुझाउँछ । 

यस्तो महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ । 

केहो ड्यू अमाउन्ट ?

सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट ९म्गभ भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो ।

उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा अनपेड अमाउन्ट १४२५ रुपैयाँ र  अनबिल्ड अमाउन्ट २४८ रुपैयाँ गरेर जम्मा ड्यु अमाउन्ट १६७३ हुन्छ ।

आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *४००# डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाहीँ अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो ।

 क्रेडिट लिमिट केहो ?

हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम ५०० रुपैयाँ, भ्याटवापत ६५ रुपैयाँ र क्रेडिट लिमिट वापत ३८० रुपैयाँ गरी जम्मा ९४५ रुपैयाँ लाग्दछ ।

स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने ३८० रुपैयाँ रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो ३८० रुपैयाँनै ग्राहकको क्रेडिट लिमिट हो ।

नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ । 

रेन्टल चार्ज

पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि ३८३.०७ रुपैयाँ तिर्नै पर्छ ।

यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो । मासिक रुपमा यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ । 

यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ ।

पोस्टपेड प्याक लिनका लागि *१४१५*२# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ । साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ ।

सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनः प्रयोग गर्न सकिन्छ । 

सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ ।

यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ ।

मानौ कुनै ग्राहकले महिनामा  १०० रुपैयाँ मात्र प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँनै काटिन्छ र आफ्नो २८३.०७ रुपैयाँ कता हरायो भनी झुक्किएको पाइन्छ । 

बिल थाहा पाउने तरिका

पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *४००# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटबाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ ।

कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ । 

नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिन्छ ।

यसबाट प्रयोग गरिने पोस्टपेड प्याकेज र अन्य विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।  

Read More