काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट नेपाल पनि प्रभावित बनेको छ । छिमेकी मुलुक चीनबाट सुरु भएको कोभिडको प्रभाव हाल विश्वको अधिकांश मुलुकमा पुगिसकेको छ । कोरोनाबाट सुरक्षित रहन गत चैत ११ बाट सरकारले लकडाउन गरेको छ । त्यसको केही दिन अगाडिबाटै बैंकहरूले कोरोनाले वित्तीय सेवामा पार्न सक्ने असरलाई मध्यनजर गर्दै विद्युतीय माध्यमबाट हुने कारोबार निःशुल्क बनाए ।
हाल केही बैंकिङ क्षेत्रका विज्ञहरूले पनि अहिलेको यो संकट नेपालका लागि विद्युतीय कारोबार विस्तार गर्ने अवसर हुन सक्ने विश्लेषणसमेत गरेको सुनिन्छ । वास्तवमा हेर्ने हो भने अहिलेको यो परिस्थितिमा नगद कारोबार गर्दा जोखिम हुने र विद्युतीय कारोबार सुरक्षित हुने भएपछि आमनागरिकको पनि विद्युतीय कारोबारतर्फ आकर्षण बढेको देखिन्छ ।
कोरोना प्रभावले वित्तीयजगत् पनि समस्याको भूमरीमा परेको छ । यसको प्रभाव वित्तीय क्षेत्रमा पनि छ । तर पनि यसले चाहे कर्णालीको जनता होस् अथवा अन्य, त्योभन्दा पनि विकटका नागरिक हुन, उनीहरूलाई पनि विद्युतीय माध्यमबाट कारोबार गर्नुपर्छ भन्ने चेतना सिर्जना गर्यो । आज दूरदराजका मानिसले पनि डिजिटल अथवा क्यासलेस बैंकिङ, मोबाइलबाट गर्ने बैंकिङ राम्रो रहेछ, यस्तो कारोबार हामीले पनि कसरी गर्न सकिन्छ, जान्न पाए हुन्थ्यो भन्ने जागरुकता बढेको छ ।
हरेक समस्यासँगै त्यसमा सफलता पनि लुकेको हुन्छ भन्ने नेपालीको भनाइ जस्तै कोरोना भाइरसले वित्तीय क्षेत्रका लागि समस्या सिर्जना त गर्यो तर यसले सँगै विद्युतीय कारोबारको अवसर समेत बढाएर जाने निश्चित छ । अबको बैंकिङ पनि डिजिटल बैंकिङ नै हुनपर्छ भन्ने सन्देश यो महामारीले दिएको छ । हरेक विषयमा हामीले नेपालको वित्तीय क्षेत्रको तुलना भारतीय बैंकिङसँग गर्ने गरेका छौं । भारतमा पनि नोटबन्दीपछि बैंकमा पैसा निकाल्न बसेको नागरिकको लाइन र नोटबन्दीले उत्पन्न असहज परिस्थितिलाई विद्युतीय कारोबार विस्तारको कोसेढुङ्गाका रूपमा लिइँदै आएको छ ।





