कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै देशभर आवतवाजावत ठप्प छ। यसले देशको अर्थतन्त्रलाई नै प्रभाव पारेको छ। लकडाउनको कारण मानिसले बाहिर आवत जावत गर्न नपाउँदा नगद कारोबार मात्र होइन अनलाइन कारोबार पनि नभएको व्यवसायीहरू बताउँछन्।
मान्छेहरु घरभित्र बस्दा नगदको तुलनामा अनलाइन माध्यमबाट भुक्तानी भइरहेको धेरैको अनुमान छ। धेरैको अनुमान विपरित अनलाइन माध्यमका बारोबार पनि खुम्चिएका छन्।
दैनिक उपभोग्य वस्तु बाहेकको कारोबारमै रोक लागेको अवस्थामा समग्र कारोबार घटेको व्यवसायीहरुले बताएका छन्।
इन्टरनेट वा फोनको माध्यमबाट भुक्तानी हुनेमध्येको एक माध्यम हो मोबाइल वालेट। लकडाउन अवधिमा यसबाट हुने कारोबार घटेको छ।
लकडाउनले पहिलेको तुलनामा कारोबार झण्डै ५० प्रतिशतले घटेको खल्तीका सहसंस्थापक तथा निर्देशक अमित अग्रवालले बताए। लकडाउनले प्लेन टिकट, मुभी, इकमर्श लगायतका सबै कारोबार बन्द भएकाले कारोबार घटेको हुनसक्ने उनको अनुमान छ।
‘लकडाउनको कारण केही राहत पाइन्छ की भन्ने आशाले होला उपभोत्ताले बिजुलीको बिल पनि तिरेका छैनन्,’ उनले भने।





