संक्रमणका बेला ह्याकरहरू सक्रिय हुने आशंकामा बैंकहरूले ग्राहकलाई गराए सचेत
काठमाडौँ — आफ्नो खाता, एटीएम पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिई सुरक्षित किसिमले मात्र बैंकिङ कारोबार गर्न बैंकहरूले आग्रह गरेका छन् । लकडाउनका बेला घरैबाट विद्युतीय कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका बैंकहरूले बैंकिङ सुरक्षामा पनि ध्यान दिन भनेका हुन् ।
बढ्दो विद्युतीय कारोबारसँगै जोखिम बढेकाले सुरक्षित हुन ग्राहकलाई सचेत गराइएको वाणिज्य बैंकको छाता संगठन बैंकर्स संघले बताएको छ । संघले विज्ञप्ति नै निकालेर सुरक्षित किसिमले विद्युतीय प्रणालीमार्फत कारोबार गर्न आग्रह गरेको छ । ‘यस विषम परिस्थितिमा सकेसम्म विद्युतीय कारोबार गर्नुहुन र आफ्नो खाता नम्बर, पिन नम्बरलगायत व्यक्तिगत विवरण कसैलाई नदिनुहुन तथा विद्युतीय कारोबारमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सुरक्षित कारोबार गर्नुहुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
केही दिनयता अपरिचित नम्बरबाट ग्राहकलाई फोन गरेर बैंक खातासँग सम्बन्धित व्यक्तिगत विवरण मागेको कुरा बाहिर आएको छ । ती व्यक्तिले आफूलाई बैंकको कर्मचारी भएको र अनलाइन बैंकिङ कारोबारका लागि ती विवरण चाहिएको बताउँदै आएका छन् । वास्तवमा ती व्यक्ति बैंकका कर्मचारी नभई ह्याकर (पैसा चोरी गर्ने) व्यक्ति भएको अनुमानका आधारमा बैंकहरूले सचेत भएर कारोबार गर्न ग्राहकलाई आग्रह गरेको संघले जानकारी दिएको छ ।





