पछिल्लो घटनाक्रमलाई जोडेर एफवान सफ्ट र इसेवासँग जोडिएका बैंक वित्तीय सँस्थामा ग्राहकको खाता असुरक्षित रहेको प्रचारबाजी भएको छ। आफुलाई नेपालकै पहिलो पत्रिका भन्ने राष्ट्रिय दैनिक देखि दर्जनौं अनलाइन मिडियाहरुले एफवान सफ्टसँग जोडिएका बैंक वित्तीय सँस्थामा जनताको खाता असुरक्षित रहेको समाचार लेखेका छन्।
तर एफवान सफ्टले नै मोबाइल तथा इन्टरनेट बैंकिङ हेरिरहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले न्युज डिलेट भएको घटनाले आफुहरुले असुरक्षित महसुस नगरेको बताए। आफुहरुले उक्त संस्था अर्थात एफवान सफ्टसँग लामोसमयदेखि काम गरिरहेको र उक्त सँस्था सरकारबाट नै मान्यता प्राप्त तथा विश्वासिलो संस्था भएकाले अविश्वास गर्नुको कारण नभएको उनले बताए।
यसबारे बैंकहरुको छाता संगठन एनबिएले आधिकारिक धारणा दिने भएपनि आफ्नो बुझाईमा एफवान सफ्टसँग गरिएका प्रत्येक सम्झौतामा बैंक नै बलियो रहेकाले ग्राहकले कुनै पनि चिन्ता लिनु नपर्ने बताए।
"अहिले इसेवालाई जोडेर ग्राहकको खातामा केहि हुन्छ कि भन्ने कुरा बजारमा आएका छन तर त्यस्तो कुनै सम्भावना छैन" उनि भन्छन, "एकातर्फ नेपालमा तेस्रो पार्टी भुक्तानीको सुविधा छैन भने अर्कोतर्फ आफ्नो खातामा के गर्ने के नगर्ने भन्ने अधिकार र पहुँच ग्राहकको मात्रै हुन्छ, बैंकहरुले इसेवा मात्र नभई सेलपे, आइएमई पे, खल्ती, प्रभु पे सबै पेमेन्ट गेटवे सँग मिलेर गेटवेको सेवा दिइरहेका छन्, तर यसको अर्थ उनीहरुसँग ग्राहकको खाताको पहुँच हुन्छ भन्ने कुरा निराधार हो।"




