१९ चैत, काठमाडौं । कोरोना भाईरस फैलिन नदिन र यसबाट हुनसक्ने सम्भावित संक्रमण रोक्न नेपाल सरकारले थप एक साता लकडाउन गरेको अवस्थामा विभिन्न सेवाहरु लगायत दैनिक आवतजावतमा समेत निकै प्रभाव परेको छ ।
यस्तो अवस्थामा नेपाल सरकारको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले नगद कारोबार र अत्यावश्यक सेवाबाहेक अन्य भुक्तानी कारोबारहरुको लागि उपलब्ध डिजिटल माध्यममार्फत् कारोबार गर्न ग्राहकहरुलाई सूचित गर्दै आएका छन् ।
यसका लागि बैंकका कार्ड, मोबाईल बैङ्किङ, ईन्टरनेट बैङ्किङ, कनेक्ट आइपीएस जस्ता डिजिटल माध्यममार्फत् ग्राहकले आफ्नै घरमै बसेर कारोबार गर्नसक्ने अवस्था रहेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले पनि आफ्नो सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका ग्राहकहरुलाई असर नपर्नेगरी भुक्तानी कारोबारहरु समयमै राफसाफ गर्ने उद्देश्यका साथ आफ्नाे एनसीएचएल इसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आइपीएस, कनेक्ट आरटीजीएस तथा एनपीआई लगायतका सम्पूर्ण भुक्तानी प्रणालीहरु नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुको समन्वयमा सुचारु नै राखेको छ ।
चैत्र ११ गतेबाट सुरु भएको लकडाउनको समयावधिमा एनसीएचएलका विभिन्न प्रणालीमार्फत् १८.५ अर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ भएकाे हाउसले जानकारी दिएकाे छ ।
...





