राष्ट्र बैंक भन्छ– स्प्रे छर्कन बैंकहरुले पास लगेका छन्
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन ।
लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुले एटीएम मेसिनहरु ‘फूल फेज’ मा चलाएका छन् । जनताको सेवाका लागि बैंकहरु तत्पर नै देखिन्छन् । विषम परिस्थितिमा पनि बैंकहरुले सर्वसाधारणलाई सुविधा दिइरहने बताएका छन् ।
यसै सन्दर्भमा अनलाइनखबरको टोली मंगलबार काठमाडौंका केही एटीम सेन्टरको अवलोकन गर्यो । नयाँ बानेश्वर, बुद्धनगर, बिजुलीबजार, सिंहदरबार, न्यूरोड, नक्साल, लाजिम्पाट लगायतका ठाउँहरुमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका एटीएम बुथहरुमा पुग्दा सेवा सुचारु नै रहेको पाइयो ।
तर, कोरोना भाइरसबाट बच्न ती एटीएम बुथमा सुरक्षा सतर्कता भने अपनाइएको पाइएन । त्यहाँ न डिसइन्फेक्सन स्प्रे गरिएको थियो, न त स्यानिटाइजरको व्यवस्था नै ।
कुनै सामग्री छोइसकेपछि साबुन पानीले कम्तिमा २० सेकेन्ड हात धुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । स्वास्थ्यका जानकारहरुले यसका लागि अपिल गरिरहेका छन् । सरकारले पनि यसबारे बुझाउन प्रचार प्रसार तीब्र पारिरहेकै छ ।
तर, बैंकका एटीएमहरुमा न हातधुने साबुन पानी देखियो, न त स्यानिटाइजर नै ।
...





