कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकार र बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल बैंकिङलाई प्रोत्साहन गरिरहेका बेला यसतर्फ सर्वसाधारणको आकर्षण समेत बढिरहेको देखिएको छ । प्रविधिको विकास र यसमा सर्वसाधारणको पहुँच बढ्दै गएकाले डिजिटल बैंकिङ सेवातर्फ सर्वसाधारण आकर्षित देखिएका हुन् । नेपाल राष्ट्र बैंकका अनुसार एटीएम कार्डदेखि पछिल्लो समयमा वालट पेमन्टजस्ता बैंकिङ सेवा प्रयोगकर्ताको संख्या बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाका अतिरिक्त ई—सेवा, आई—पे, प्रभु पे, खल्ती पसललगायतका बिभिन्न कम्पनीहरूले समेत अनलाईनमार्फत विभिन्न क्षेत्रमा भुक्तानी गर्न सकिने सुविधाहरू उपलब्ध गराएपछि आधुनिक बैंकिङ सेवाका प्रयोगकर्ता बढेका हुन् । आधुनिक बैंकिङ सेवामध्ये सबैभन्दा बढि मोबाइल बैंकिङमा सर्वसाधारणको आकर्षण देखिएको छ ।
२०७७ माघसम्म बैंक तथा वित्तीय संस्थामा तीन करोड निक्षेप खाता रहेकोमा त्यसको एकतिहाइले मोबाइल बैंकिङ उपयोग गरेको पाइन्छ । राष्ट्र बैंकका अनुसार चालु आवको माघसम्म मोबाइल बैंकिङ सेवा लिनेको संख्या ९८ लाख रहेकोमा बाणिज्य बैकबाट ८६ लाख ७९ हजार, विकास बैंकबाट १० लाख ४९ हजार र फाईनान्स कम्पनीहरूमा ७७ हजार रहेका छन् । मोबाइल बैंकिङपछि सर्वसाधारणको आकर्षण बैंकहरूले जारी गरेका कार्डहरूमा छ । बैंकबाट विभिन्न प्रकारका कार्ड लिने ग्राहकहरूको संख्या ७४ लाख २६ हजार रहेका छन् ।
...





