नवीकरण शुल्कबाटै बिमा कम्पनी चलायमान हुने हो। त्यसकारण ग्राहकका लागि विभिन्न डिजिटल माध्यमबाट भुक्तानीको व्यवस्था मिलाइएको छ।
अहिलेको संकटले बिमा लेख नवीकरणमा कस्तो समस्या छ ?
विद्यमान विकराल समस्यालाई नियन्त्रणमा लिन सरकारले आम रुपमा हिँडडुल गर्न रोक लगाएको छ। गतिविधि ठप्प हुँदा आर्थिक गतिविधि हुन पाउँदैन। लकडाउनको अवस्थामा ग्राहकसम्बन्धी कार्यालयमा भौतिक रुपमा उपस्थिति भएर बिमा लेख नवीकरण गर्न सम्भव छैन। नवीकरण शुल्कबाटै बिमा कम्पनी चलायमान हुने हो। यसको मर्कामा ग्राहक र बिमा कम्पनी दुवै छन्। त्यसकारण हामीले ग्राहकका लागि विभिन्न डिजिटल माध्यमबाट भुक्तानीको व्यवस्था मिलाएका छौं।
यसका लागि के विकल्प दिनुभएको छ ?
डिजिटल भुक्तानीका लागि ग्राहकलाई अनलाइन बैंकिङ, ई–सेवा, कनेन्ट आईपीएस जस्ता विभिन्न विकल्प दिएका छौं। यी प्लेटफर्मको माध्यमबाट घरमै बसेर पनि बिमा लेख नवीकरण गर्न सकिन्छ। महत्वपूर्ण कुरा भनेको हामीले उहाँहरुलाई बिमा लेखको अवस्थाका सम्बन्धमा सूचीत गर्ने हो। यस सम्बन्धमा हामीले रिमोट एक्सेसका माध्यमबाट घरबाटै काम गर्नेदेखि, हाम्रा आईटीलगायत सेवालाई तैनाथ राखेका छौं। यस्तो जटिल परिस्थितिमा पनि हाम्रा कर्मचारीले काम गरिरहनुभएको छ। डिजिटल माध्यममा पहुँच नभएका ग्राहकका हकमा सम्बन्धित संस्थाको कर्मचारी तथा बिमा अभिकर्तालाई सम्र्पक गरी बिमा लेखको भुक्तानी गर्न सकिन्छ।
अहिलेको संकटले बिमाको महत्व बढाउनेमा कति आशावादी हुन सकिन्छ ?
बिमा भनेकै जोखिम न्युनीकरण गर्ने माध्यम हो। जोखिमबाट बच्न बिमा गरिन्छ। २०७२ सालको भूकम्प यता बिमाप्रति जनचेतना व्यापक बढेको थियो। त्यस यता घर र सम्पत्तिको बिमा गर्नेको संख्यामा वृद्धि भएको थियो। यस्ता महाविपत्ति भोगेका मानिसले जोखिम हस्तान्तरण गर्नुपर्छ भनेर राम्ररी बुझ्छन्। र भविष्यमा बिमासम्बन्धी चेतना बढाउन र मानिसलाई आफ्नो जीवन र श्रीसम्पत्तिलाई बिमाको दायरामा ल्याउन प्रेरित गर्नेछ।
...





