चैत १२, काठमाडौं । तपाईंलाई विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ ले कतिको त्रसित बनाएको छ ? हामीमध्ये जो कसैलाई पनि आफू, आफ्नो परिवार वा आफन्तलाई रोग लागिहाल्ने हो कि भन्ने चिन्ता हुनु स्वभाविक हो ।
रोगबारे सजग भएर आवश्यक सावधानी अपनाए पनि अनावश्क चिन्तित हुनु भने ठीक होइन । त्यसले कोभिड–१९ को संक्रमण नदेखिए पनि मानसिक रोग लाग्न सक्ने देखिएको छ । मानसिक रोग विशेषज्ञका अनुसार ठूला विपद् र त्यसपछिको समयमा समेत मानसिक रोग लाग्न सक्ने खतरा रहन्छ ।
कोभिड–१९ रोगको संक्रमणबारे पढ्ने, हेर्ने र सुन्ने गर्दा व्यक्तिको मनोबल कमजोर हुनसक्ने पाइएको छ । सामाजिक सञ्जालमा दिइएका अतिरञ्जित सामग्रीहरुले पनि व्यक्तिमा भय बढाएको पाटन मानसिक अस्पतालका प्रमुख कन्सल्टेन्ट साइक्याटिक्स डा अनन्तप्रसाद अधिकारीले बताए ।
विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना र आधिकारिक समाचार माध्यमका समाचार सामग्री मात्रै पढ्नुपर्ने उनको भनाइ छ । सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै घरभित्रै बसिरहँदा धेरैले दिनभर धेरै समय यही विषयका बारेमा जानकारी लिने गरेका छन् । उनले भने, ‘दिनभर यही विषय मात्रै हेर्दा र सुन्दा त्यसको प्रभावका रुपमा मानसिक रोग लाग्नसक्ने जोखिम हुन्छ ।’
काठमाडौंमा कोभिड–१९ को संक्रमण एक जना युवतीमा देखिएपछि धेरै जना त्रसित भएको डा अधिकारीले बताए । छिमेकी मुलुकलगायत विश्वका अधिकांश देशमा यो संक्रमण बढेसँगै नेपालमा पनि देखिनसक्ने भन्दै डराउन थालेकाहरुमा ती युवतीलाई संक्रमण भएको पुष्टि भएसँगै भय बढेको छ ।
विश्वका विकसित देशहरुमा त रोग नियन्त्रण नभएकाले यहाँ फैलन सक्ने भन्दै धेरै डराएको पाइएको उनले बताए । उनले भने, ‘सामाजिक सञ्जालमा यस्तै पढेपछि त्रास अझ बढेको छ ।’
...








