बैंक तथा वित्तीय संस्थाले एटीएम बुथमा ह्यान्ड स्यानिटाइजर राखेनन्
काठमाडौँ — कोभिड–१९ भाइरसको जोखिमबाट बच्न कार्यालयमा पर्याप्त सुरक्षाका उपाय अपनाएका बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा भने सुरक्षा व्यवस्था गरेका छैनन् । कोरोनाको जोखिमबाट बच्न सरकारले आवश्यकबाहेकका सेवा (क्षेत्र) बन्द गरेको छ ।
योसँगै बैंकमा भीड नगर्न, थोरै कर्मचारीबाट काम चलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले भने एटीएम बुथमा सरसफाइ, गार्डसहित स्यानिटाइजरलगायत सुरक्षाका उपाय अपनाउन निर्देशन दिएको जनाएको छ । एटिएम बुथहरुमा हेर्दा राष्ट्रबैंकको यो निर्देशन बैंकहरुले पालना गरेको देखिदैन ।
ग्राहकलाई बैंकमा भेला हुने भन्दा पनि एटीएम, इन्टरनेट, मोबाइल बैंकिङलगायत विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गरिएको छ । यो निर्देशनपछि मानिस सामान्य कारोबारका लागि बैंक धाउन छाडेका छन् भने एटीएममा घुइँचो बढेको छ ।
तर कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटीएममा सुरक्षाका उपाय अपनाएका छैनन् । एटीएम बुथहरूमा न त कुनै स्यानिटाइजर राखिएको छ, न अरू सुरक्षणका उपाय अपनाइएको छ । सोमबार बानेश्वर, थापाथली हुँदै जावलाखेलसम्म रहेका विभिन्न बैंकका करिब दुई दर्जन एटीएम मेसिनमा स्यानिटाइजर पन्जालगायत कुनै सुरक्षाका उपाय थिएनन् । केही एटीएमका ढोकामा कोरोनाबाट बचौं भन्ने सन्देश लेखिएका सूचना भने टाँसिएका थिए ।
धेरै मानिसले प्रयोग गर्ने एटीएम मेसिनमा सुरक्षा उपाय नअपनाउँदा जोखिम बढेको जानकारहरू बताउँछन् । ‘अब सबैभन्दा धेरै जोखिम एटीएम बुथमा पो लाग्न थाल्यो, केकस्ता मानिस आएर पैसा निकालेर जान्छन्, थाहै हुँदैन,’ एक ग्राहक दिवाकर दंगालले भने, ‘यसकारण मैले एकै पटक धेरै पैसा निकालेर राखेको छु ।’
अर्का ग्राहक सुस्मिना श्रेष्ठ पनि एटीएममार्फत रोगको जोखिम बढी रहेको बताउँछिन् । ‘घरमा त सुरक्षित हुन सकिएला तर एटीएममा जोखिम छ,’ उनले भनिन्, ‘बैंकहरूले एटीएममा पनि स्यानिजाइजर राख्नुपर्छ ।’ राष्ट्र बैंक र बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भने बैंकहरुले एटीएममा पनि सुरक्षणका उपाय अपनाएको दाबी गरेका छन् ।
‘एटीएम बुथमा सरसफाइ गर्न, गार्डसहित स्यानिटाइजरलगायत सुरक्षाका उपाय अपनाउन निर्देशन दिएका छौं,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘बैंकहरूले निर्देशन पालना गरेका होलान् भन्नेमा हामी आशावादी छौं ।’ बैंक तथा वित्तीय संस्थालाई सुरक्षाका पर्याप्त उपाय अपनाउन, धेरै भीडभाड नगर्न, सरसफाइ गर्न निर्देशन दिइसकेकाले एटीएम पनि त्यही निर्देशनले समेट्ने उनले जानकारी दिए ।
बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा पनि बैंकहरूलाई एटीएम बुथमा ‘स्यानिटाइस्ड’ गर्न निर्देशन दिइएको उनले बताए । ‘धेरै बैंकले निर्देशन पालना गरिसकेका छन्, बाँकीले नि गर्दै होलान्,’ उनले भने, ‘बैंकहरूसँगै सेवा लिन आउने ग्राहकले पनि आफू सुरक्षित हुने उपाय अपनाउनुपर्छ ।’
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका एटीएम संख्या उल्लेख्य रूपमा बढेका छन् । ०७६ पुससम्म नेपालभर कुल एटीएम संख्या ३ हजार ६ सय ६२ पुगेका छन्, जसमध्ये वाणिज्य बैंकका ३ हजार २ सय ७४, विकास बैंकका ३ सय ३७ र वित्त कम्पनीका ५१ वटा एटीएम सञ्चालनमा छन् । गत असारमा यस्तो संख्या ३ सय ३ सय १६ थियो । ०७५ असारमा कसल एटीएम संख्या २ हजार ७ सय ९१ थिए ।
...





