सुर्खेत (अस) । राष्ट्रिय वाणिज्य बैंक कर्णालीमा लगानी बढाउँदै लगेको छ । बैंकले चालू आवको ८ महीनामा कणालीमा साढे ५ अर्बभन्दा बढी लगानी गरेको छ ।
आक्रामक तरीकाले लगानीको क्षेत्र विस्तारमा जुटेको बैंकले फागुन मसान्तसम्ममा प्रदेशका १८ ओटा शाखामार्फत ५ अर्ब ६३ करोड ३६ लाख रुपैयाँ प्रवाह गरेको हो । यो अवधिमा ५ अर्ब ३८ करोड ३४ लाख निक्षेप संकलन तथा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन भएको बैंकको कर्णाली प्रदेश कार्यालयका उपप्रमुख होताराम योगीले जानकारी दिए ।
सुर्खेतको वीरेन्द्रनगर, सल्यानको खलंगा र रुकुम पश्चिमको मुसीकोटमा छिट्टै नयाँ शाखा सञ्चालनमा ल्याउन लागिएको योगीले बताए । उनका अनुसार कर्णालीका १० जिल्लामा बैंकका डेढ लाख ग्राहक छन् । ‘बैंकले कर्णालीमा महिला उद्यमी कर्जा, युवा स्वरोजगार कर्जा, कृषि कर्जा, दलित वर्ग लक्षित परम्परागत शीप कर्जा, वैदेशिक रोजगार कर्जा तथा उच्च शिक्षा अध्ययन ऋण प्रवाह गरिरहेको छ,’ उनले भने, ‘विनाधितो १० लाखसम्म र धितो राखेर अनुदानमा ५ करोडसम्म ऋण प्रवाह गरेका छौं ।’
...






