मेगा बैंक नेपालले धरानमा महिला उद्यमीहरूलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जासम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । साना तथा मझौला उद्यमी महासंघसँग आबद्ध महिला उद्यमीहरूलाई बैंकले सुनसरीको धरानमा वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत बैंकले आयोजना गरेको कार्यक्रममा महिला उद्यमीहरूलाई बचत, बैंकिङ कर्जा, व्यावसायिक सफलतामा बैंकको महत्वका साथै मेगा बैंकले प्रदान गर्दै आएका विभिन्न सेवा सुविधाका बारेमा माइक्रो बैंकिङ विभागका प्रमुख पुण्य खनिया, मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक धरान शाखाका प्रबन्धक सविन श्रेष्ठले लगायतले प्रशिक्षण दिएका थिए । यसैगरी, मेगा बैंकले विशेष प्राथमिकता दिएको ब्याज अनुदान महिला उद्यमशील कर्जाका बारेमा महिला उद्यमीहरूले निकै चासो लिएका थिए ।






