कुनै त्यस्तो बैङ्क होला जसले बिना धितो पनि ऋण दियोस् ? असम्भव । किनभने कुनै त्यस्तो बैङ्क हुँदैन जसले बिना धितो ऋण दियोस् वा बैङ्क आफै ग्यारेन्टी बसिदियोस् ।
तर नेपालमै एउटा त्यस्तो बैङ्क छ जसले बिना धितो १२ अर्बभन्दा बढी रकमको ग्यारेन्टी बसेको छ, त्यो पनि नेपाल सरकारलाई तिर्ने गरी ।
अनि बिना धितो १२ अर्ब ४६ करोड बराबरको ग्यारेन्टी बस्ने बैङ्क हो, प्राइम कमर्सियल बैङ्क ।
कमलपोखरीमा केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैङ्क विभिन्न म्यानपावर कम्पनीहरुले बदमासी गरे वा ठगी गरेको खण्डमा तिर्ने गरी १२ अर्ब ४६ करोड रूपैयाँको बैङ्क ग्यारेन्टी बसेको छ । तर बैङ्क ग्यारेन्टी बस्ने समयमा उसले कुनै धितो भने राखेको छैन, मात्रै १० प्रतिशतसम्म मार्जिन र १ देखि १ दशमलब ५ प्रतिशत प्रतिवर्ष सेवा शुल्क लिएर उसले यति धेरै रकमको ग्यारेन्टी बसेको छ । केही करोडको लोभमा प्राइम बैङ्कले अर्बौंको जोखिम मात्रै मोलेको छैन, जनताको निक्षेप समेतलाई दाउमा राखेको छ ।








