२ चैत, काठमाडौं । कोरोनाकै कारण विश्व अर्थतन्त्रमा यस वर्ष गिरावट आउने पक्का छ । विश्वमा संक्रमण फैलिरहँदा नेपालको पर्यटन व्यवसाय ठप्प प्रायः बनिसकेको छ । नेपाल सरकारले विदेश जानेहरुका लागि श्रम स्वीकृति रोकिदिएको छ । यसबाट अर्थतन्त्रको टेकोको रुपमा रहेको रेमिट्यान्स घट्ने पक्का भएको छ ।
भाइरसको असर बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ ।
नेपालमा पनि यो भाइरसको संक्रमण भित्रिए नेपालको बैंकिङ क्षेत्र कस्तो होलान ? संक्रमणबाट जोगिन बैंकहरुको तयारी कस्तो छ ?
यिनै विषयमा हामीले नविल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वध्यक्ष अनिलकेसरी शाहलाई सोध्यौं ।
शाहले अहिले नै बैंकलाई यसले असर गरिसकेको नभए पनि अगामी दिनमा बैंकिङ क्षेत्रमा ठूलो असर पर्ने बताए । तर, ग्राहकका सेवामा भने सकेसम्म बैंकहरु खटिरहने उनले बताए ।
प्रस्तुत छ, शाहसँग गरिएको कुराकानीको सम्पादित अंश –
विश्वभर यतिबेला कोरोना भाइरसको त्रास छ, यसले बैंकिङ क्षेत्रलाई कत्तिको असर परेको छ ?
संसारमै अहिले कहिल्यै अनुमान पनि नगरिएको वातावरण आइपरेको छ । कोभिड-१९ भन्ने भाइरसका कारण शारीरिक सन्तुलनमात्रै होइन, आर्थिक सन्तुलन पनि बिगारेको छ । चीनको एउटा सहरबाट सुरु भएको भाइरसले संसारकै मुख्य स्टक मार्केटदेखि लिएर समग्र अर्थतन्त्रलाई उथल-पुथल गरेको छ । हामीले देखेको नेपालको सन्दर्भमा मुख्य व्यापार हो । यसमा असर परिसकेको छ ।
अधिकांश तीनबाट आउने सामाग्रीहरु रोकिएका छन् । जुन व्यापारको आकार छ त्यो घटेको छ । दोस्रो भनेको पयर्यटन हो । आन्तरिक तथा बाहृय पर्यटन दुबै नै ठप्प बनेको छ । अघिल्लो साता लगातार ३ दिन बिदा थियो । शनिबार, महिला दिवस अनि होली । सामान्य समयमा यो ३ दिन बिदा भएको भए नेपालका आन्तरिक पर्यटनका क्षेत्ररहरु भरिभराउ हुने थिए । पोखरा, लुम्बिनी, सौराहा, बर्दियालगायतका ठाउँहरु भरीभराऊ हुने थिए ।
आन्तरिक पर्यटनले यी क्षेत्रहरु भरिभराउ हुने थिए । विदेशी पर्यटकहरु आउन त बन्द नै भइसकेको छ । आन्तरिक पर्यटकहरु पनि अहिले घुम्न निस्केका छैनन् ।
पर्यटन भनेको यस्तो क्षेत्र हो कि यसले होटल क्षेत्रलाई मात्रै असर गर्छ भन्ने हुँदैन । पर्यटन खस्कँदा पोल्टीफार्मको हृयाचरीमा पनि असर परेको छ । स्ट्रबेरी फार्मिङमा पनि असर गरेको छ । तरकारी फार्म, माछा पालन गर्नेदेखि लुगा धुने धोबीसम्मलाई असर परेको छ । अर्को महत्वपूर्ण कुरा, रेमिट्यान्समा असर ठूलो पर्दैछ ।
अहिले नै रेमिट्यान्स आउने क्रम रोकिएको त छैन । तर, हाम्रा श्रम गन्तव्यहरु ठप्प भएका छन् । कतारले रोक्यो, त्यसपछि अन्य देशमा पनि रोकिए । अहिले त हाम्रै सरकारले श्रम स्वीकृति अनिश्चितकालीन रुपमा बन्द गरेको छ । यसले रेमिट्यान्समा भयंकर असर गर्दैछ । अहिले कतारले नेपालीलाई आउन नदिने भनेको छ, भोलि त्यहाँ भएको नेपाली फर्काउनु पर्ने स्थिति पनि सिर्जना हुन सक्छ ।
त्यसपछि त रेमिट्यान्समा ठूलो धक्का लाग्नेछ । कोभिड फेरी भूकम्प जस्तो होइन । भूकम्प त आयो गयो । भूकम्प गइसकेपछि अब बनाऔं भन्न मिल्छ । तराई आन्द्योलनले यस्तेा भयो अव सुधार हुन्छ भने जस्तो अवस्था पनि छैन । अहिलेसम्म त पशुपतिनाथको कृपाले छिमेकी राष्ट्रहरु भन्दा धेरै कम डर छ ।
तर, भोलि संक्रमण फैलिएको अवस्थामा त नेपालले थेग्नै नसक्ने अवस्था आउन सक्छ । यसको अन्त्य कहिले र कसरी हुन्छ भन्ने कुरा कसैले भन्न सक्दैन । हाम्रो अनुमानमा यो आर्थिक वर्षमाआर्थिक प्रगति गाह्रो पर्छ । अब सकारात्मक रुपमा अन्य क्षेत्र जस्तै वित्तीय क्षेत्रमा पनि असर परेको छ ।
अहिले ब्याजको मिनाहा गर्नुपर्छ भन्ने कुरा आइसक्यो । ब्याजको मिनाहामात्रै होइन, सरकारले करको कुरा पनि हेर्नुपर्यो । कसरी हुन्छ, प्रोत्साहन कसरी हुन्छ भन्ने कुरा सोच्नुपर्यो । कोभिडले मान्छेमात्रै होइन, अर्थतन्त्र नै बिरामी पर्दैछ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा सोच्नुपर्छ ।
अहिले सरकारले कोभिड समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाएको छ । अर्को कमिटी अर्थतन्त्रलाई पर्ने असर र समाधानका लागि तत्कालै बनाउनुपर्छ । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एफएनसीसीआई, चेम्बर अफ कमर्श, बैंकर्स संघ लगायतका प्रतिनिधि सम्मिलित कमिटी बन्नुपर्छ ।
अर्थतन्त्रमा लागि महत्वपूर्ण सबै क्षेत्र समेटेर तत्कालै समिति बनाइहाले अर्थतन्त्रलाई रोगी हुन नदिने रोग लागिहाले कसरी स्वस्थ हुने भनेर समाधान गर्न सकिनेछ ।
कोभिड-१९ ले नेपालको बैंकिङ क्षेत्रमा अहिले असर परिसकेको छैन ?
...




