यन्त्र मानवको नालीबेली


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यन्त्र मानवको नालीबेली

विज्ञान र प्रविधिको विकाससँगै मानिसले अनेक वस्तु आविष्कार गरेका छन्। ती वस्तुले मानव जीवनलाई सरल र सहज बनाइदिएका छन्। त्यस्तै आविष्कारमध्येको एक हो– रोबोट।
रोबोट यन्त्र वा कम्प्युटर प्रोग्राम हो, जसको आफ्नै जीवन हुन्छ। कलकारखाना, घर, होटल, खोज अनुसन्धान, चिकित्सा, युद्धलगायतका क्षेत्रमा यसको प्रयोग गरिन्छ। विभिन्न कठिन काम गर्न पनि यसको प्रयोग गरिन्छ। मानिसलाई झैं आराम, निद्रा, सुविधा, तलब, औषधोपचार आवश्यकता नभएकोले पनि रोबोटको प्रयोग बढ्दो छ।

रोबोटको आविष्कार हुनुभन्दा पहिले पनि विभिन्न स्वचालित यन्त्रहरू बनेका थिए। पूर्वीय समाजमा धेरै अगाडिदेखि कठपुतली बनाउने चलन थियो। प्राचीन ग्रिस र रोममा धार्मिक समारोहमा स–साना खेलौनाहरू बनाइन्थ्यो। ईशापूर्व चौथो शताब्दीमा ग्रिसका वैज्ञानिक आच्र्यातासले स्वचालित परेवा बनाएका थिए। त्यस्तै आठौं शताब्दीमा चीनका वैज्ञानिकले माछा समात्ने काठको स्वचालित यन्त्र र बिरालो बनाएका थिए। प्रसिद्ध कलाकार तथा वैज्ञानिक लियोनार्दो दा भिन्चीले पाहुनाको स्वागत गर्ने रोबोट बनाएका थिए। उनले मानवकृत रोबोटको स्केच पनि तयार गरेका थिए। सबैभन्दा पहिलो चल्ने रोबोट सन् १९७३ मा जापानले बनाएको थियो।

आधुनिक समयमा रोबोट शब्दको प्रयोग सर्वप्रथम सन् १९२१ मा चेकोस्लोभाकियाका लेखक कार्ल चापेकले रोसम्य युनिभर्सल रोबोट पुस्तकमा गरेका थिए। चेक भाषामा त्यसको अर्थ जबर्जस्ती काम गराउनु हुन्छ। त्यसपछि विभिन्न लेखकहरूले रोबोटको बारेमा कथा, उपन्यासहरू लेखे।

कम्प्युटर निर्देशित पहिलो यन्त्रमानव सन् १९६० को दशकमा अमेरिकाका काल्र्स डिमोन र जोसेफ एङ्लबर्गरले बनाएका थिए। सन् १९६२ देखि अमेरिकाका उद्योगहरूमा यसको प्रयोग गर्न थालियो। त्यसपछि मात्र युरोपेली देश तथा जापानमा यसको प्रयोग हुन थालेको हो। अहिले संसारमा यसको व्यापक प्रयोग हुन थालेको छ।

रोबोटको बारेमा केही जानकारी

·   लियोनार्दो दा भिन्चीले सन् १४९५ मा रोबोटिक मेसिन बनाउने योजना बनाएका थिए, जुन हतियारधारी मानवकृत रूप थियो।

·   पहिलो बोल्ने मानवीय रोबोट इलेक्ट्रो हो, जुन अमेरिकाको वेस्टिङ हाउसले सन् १९३९ मा बनाएको थियो। यो सात फिट अग्लो थियो र यसले सात सय शब्द बोल्न सक्थ्यो।

·   पहिलोपटक रोबोटले सन् १९७९ मा अमेरिकाको फोर्ड कम्पनीमा दुर्घटनाबस रोवर्ट विलियमलाई मारेको थियो।

·   सबैभन्दा सानो रोबोटलाई नानोबोट भनिन्छ। यो एक मिलिमिटरको हजारगुणा सानो हुन्छ।

·   संसारमा सबैभन्दा धेरै रोबोट जापानमा प्रयोग गरिन्छ। त्यहाँ संसारको कुल ३० प्रतिशत रोबोट प्रयोग गरिन्छ। जापानलाई संसारको रोबोटिक क्यापिटल भनेर चिनिन्छ।

·   पहिलो औद्योगिक रोबोट युनिमेट हो, जुन सन् १९५० तिर जर्ज डभोलले बनाएका थिए। उनी अमेरिकाको जनरल मोटर्समा काम गर्थे।

·   जापानमा मानिसले २० दिनसम्म कुनै मानिसले निरीक्षण गर्नै नपर्ने कारखाना छ। जहाँ रोबोटले २४ घण्टा काम गर्छ। जुन २००१ बाट सुरु भएको थियो।

·   पहिलोपटक सन् २००२ मा रोबोटलाई अफगानिस्तानको युद्धमा प्रयोग गरिएको थियो।

·   सर्वप्रथम नागरिकता प्राप्त गर्ने रोबोट सोफिया हो। उनलाई साउदी अरबले नागरिकता दिएको थियो।

Read More