सामान्यतया,लगानीकर्ताले कारोबार अवधि अर्थात आइतबारदेखि बिहीबारका दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र धितोपत्र कारोबार हुन्छ भन्ने सोच राख्छन्। तर, नेपाल स्टक एक्सचेञ्जमा यो समय बाहेक पनि शेयर कारोबार हुने गर्दछ।
नेप्सेले दोस्रो बजारको कारोबार अवधि शुरु हुनुभन्दा अघि शेयर खरिद बिक्री सुविधा पनि दिएको छ जसलाई प्रि ओपन सेसन (प्रारम्भिक कारोबार) भनिन्छ। यो सेसनमार्फत लगानीकर्ताले कारोबार अवधिभन्दा पहिले नै शेयर खरिदबिक्री गर्न सक्छन्। नियमित कारोबार शुरु हुनु पूर्व अर्थात बिहान साढे १० बजेदेखि पौने ११ बजेसम्म खरिद बिक्री आदेश दिन सक्नेछन्। यो सेसनमा लगानीकर्ताले दिएको खरिद र बिक्री आदेश अनुसार उक्त दिनको कारोबारमा ओपनीङ मूल्य निर्धारण हुने नेप्सेले बताएको छ।
यो सुविधा पहिले ब्रोकर कम्पनीहरूले प्रयोग गर्ने गरेका थिए। तर, अनलाइन प्रणालीमार्फत कारोबार शुरु भएदेखि नै लगानीकर्ता स्वयंले कारोबार गर्न सक्छन्। सो अवधिमा लगानीकर्ताले एउटै कम्पनीको शेयरमा फरक फरक खरिद बिक्री आदेश राख्न सक्नेछन्। त्यसमा सबैभन्दा धेरै कारोबार गर्न सकिने मूल्यमा एकै पटक म्यचिङ्ग हुन्छ। उक्त म्याचिङ्ग मूल्य नै त्यस दिनको लागि ओपनिङ मूल्यको रूपमा निर्धारण हुने नेप्सेले बताएको छ।
यदि म्याचिङ्ग हुन नसकेमा अघिल्लो दिनको क्लोजिङ्ग मूल्यमा २ प्रतिशतसम्म थप वा घट गराएर कारोबार आदेश दिन सकिन्छ। यसरी दिएको आदेश एक दिनसम्म मात्र रहनेछ। प्रि ओपनिङ सेसनमा दिएको आदेश उक्त दिनमा नै कुनै मूल्यसँग म्याचिङ्ग नभएको खण्डमा स्वत: खारेज हुने नेप्सेले बताएको छ।
तर, लगानीकर्ताहरू प्रिसेसनमा खासै आबद्ध हुने गरेका छैनन्। उक्त सेसनको बारेमा पर्याप्त जानकारी नभएर लगानीकर्ताले कारोबार नगरेका हुन्।
- शेयर मूल्य कसरी निर्धारण हुन्छ?
साधरणतया शेयर मूल्य दुई तरिकाले निर्धारण हुन्छ। पहिलो मार्केट मूल्य र दोस्रो लिमिटेड मूल्य हुने नेप्सेले जनाएको छ। मार्केट मूल्य बजारले निर्धारण गरेको हुन्छ। अघिल्लो दिनको कारोबार भएको अन्तिम मूल्यमा लगानीकर्ताले दुई प्रतिशत थप घट गराएर आदेश दिन मिल्ने मूल्यलाई लिमिटेड मूल्य निर्धारण भनिन्छ।
- कारोबार आदेश कति प्रकारका हुन्छन्?
एओएन:- लगानीकर्ताले दिएको आदेश सबै आदेश शेयरमूल्य र कित्ता म्याच भएपछि मात्र शेयर कारोबार हुनेछ।
एफओके:- यस आदेश मार्फत लगानीकर्ताले राखेको आदेश तुरुन्तै म्याच हुनुपर्ने हुन्छ। नभएमा स्वत: आदेश खारेज हुनेछ।
आईओसि:- लगानीकर्ताले राखेको आदेश जति म्याच हुन सक्छ तुरुन्तै हुनुपर्ने हुन्छ। समयको आधारमा दैनिक आदेश यसमा सेसन अनुसार लगानीकर्ताले शेयर खरिद बिक्री गर्न दिएको आदेश दिन भरिका लागि रहने छ ।
जिटिसिः- लगानीकर्ताले दिएको आदेश म्याच नभएसम्म अधिकतम १५ दिनका लागि उक्त आदेश सिस्टममा रहनेछ। यदि लगानीकर्ताले आदेश खारेज गर्न चाहेमा आदेश खारेज गर्न सक्नेछन्।
जिटिडिः- लगानीकर्ताले दिएको आदेश कुन दिनसम्मका लागि राख्ने भन्ने बारेमा लगानीकर्ता स्वयमले मिति निर्धारण गर्न सक्नेछन्।








