काठमाडौं । प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबार सुरु भएको छ । बिहीबार प्राइम कमर्शियल बैंकको मुख्य कार्यालयमा आयोजित समारोहमा प्राइम बैंक र कैलाश विकास बैंकको एकीकृत कारोबारको घोषणा भएको हो । दुई बैंकबीच गत असोज १५ गते मर्जका लागि प्रारम्भिक सम्झौता भएको थियो । सोही सम्झौतालाई बैंकले बिहीबार मूर्त रुप दिएको हो ।
मर्जरपछि प्राइम कमर्शियल बैंकको करिब २०० वटा शाखा कार्यालय पुगेको छ भने करिब १४ अर्ब चुक्ता पुँजीसहित १९ अर्बको पुँजीकोष पुगेको छ । बैंकको पोर्टफोलियो करिब १३० अर्ब रुपैंया पुगेको बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले १ र १ जोडेर २ मात्रै नहुने भन्दै सिनर्जी इफेक्ट प्राप्त गरी त्यसलाई ३ बनाउने घोषणा गरे । उनले कैलाश विकास बैंकको प्राप्तिपछि बैंक देशैभर पुगेको भन्दै यसबाट कृषि लगायत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी वृद्धि गर्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
...








