प्रविधिको विकास विश्वव्यापी रुपमा नै तीव्र गतिमा भइरहेको छ । कम लागतमा धेरै काम सहज तरिकाले हुने भएपछि हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढीरहेको छ । नेपालमा पनि हरेक क्षेत्र विस्तारै प्रविधिमैत्री बन्दै गइरहेको छ । हातहातमा स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि जुनसुकै स्थान र समयबाट ठूलाठूला कारोबारहरु गर्न सम्भव भएको छ । कर तिर्न, मोबाइल रिचार्ज गर्न, विजुली, पानी, बत्ती, टेलिफोन लगायतको बिल भुक्तानी गर्न, हवाइजहाज, बस, सिनेमा लगायतको टिकट बुकिङ गर्न लगायत हरेक काम मोबाइलबाट तुरुन्तै गर्न सकिने भएको छ ।
उपयोगिताहरु
अहिले आफूले जागीर गरेको तलब हातमा थापिरहनु पर्दैन, सीधै बैंकमा जम्मा हुन्छ । शेयर खरिद गर्नका लागि घन्टौँ लाइन बस्नुपर्ने समस्या पनि छैन । सीधै अनलाइनबाट शेयर खरिदविक्री गर्न सकिन्छ । बैंक खाता खोल्नका लागि समेत बैंकसम्म धाउनु पर्ने छैन । बैंकहरुले अनलाइनबाटै खाता खोल्न मिल्ने सुविधा ल्याएका छन् । एउटा बैंक खाताबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न पनि बैंक जानुपर्दैन ।





