२५ फागुन, काठमाडौं । अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले करिब ५० हजार ग्राहकको व्यक्तिगत विवरण चोरेको दावी गरेको छ । कम्पनीले भने संख्या त्यो भन्दा कम भएको दावी गरेको छ ।
शनिबार राती भएको यो हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको फुडमाण्डुले जनाएको छ । करिब ३० हजार ग्राहकको व्यक्तिगत विवरण चोरिएको हुन सक्ने कम्पनीका संस्थापक मनहर अधिकारीले बताए ।
‘हाम्रो सानो कमजोरी पत्ता लगाएर ह्याकरले साइबर हमला गरेछ, हामीले त्यसको एक घण्टापछि मात्रै थाहा पायौं,’ उनले भने,’ग्राहकको व्यक्तिगत विवरणप्रति हामी जिम्मेवार र संवेदनशील हुँदा हुँदै घटना भयो, यसले हामीलाई दुखित बनाएको छ ।’
उनले यो आक्रमणले कम्पनीलाई धक्का लागेको पनि बताए ।





