नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत 'एक व्यक्ति एक स्थायी लेखा नम्बर'को नीति लिएसँगै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN) लिने क्रम निकै बढेको छ । चालु आर्थिक वर्षको साउन यता लाखौं स्थायी लेखा नम्बर जारी भएको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपाल सरकारको 'एक व्यक्ति एक स्थायी लेखा नम्बर' नीति कार्यान्वयनमा आएसँगै कर प्रणालीमा आबद्ध हुनेको संख्या उल्लेख मात्रामा बढेको छ । यससँगै बिजपाटी डटकमले पाठकका लागि कर प्रशासन र उपभोक्ता सचेतना सबन्धी विविध सामग्रीहरु प्रकाशन गर्दै आइरहेको छ ।
यसैबीच धेरै पाठकहरुबाट आइरहेको व्यक्तिगत प्यान कार्ड हराएमा पुनः लिन के गर्नुपर्छ? भन्ने जिज्ञासामा यो सामग्री केन्द्रित छ ।
नयाँ नम्बर लिने कि पहिलेकै?
स्थायी लेखा नम्बर एउटा व्यक्ति वा संस्थाको लागि एक पटक मात्रै दिइन्छ । त्यसैले कर कार्यालयबाट स्थगन नगरेसम्म सरकारको एकीकृत कर प्रणाली (Integrated Tax System) मा त्यसको अस्तिस्व रहिरहेको हुन्छ । अतः प्यान कार्ड हराउँदैमा नयाँ लिनु जरुरी छैन । हालको कर प्रणालीबाट एउटै व्यक्ति वा संस्थाको लागि स्थायी दुईपटक स्थायी लेखा नम्बर जारी गर्न मिल्दैन । कार्ड हराएको खण्डमा पहिलेकै नम्बरको कार्ड पुनः उपलब्ध गराइन्छ ।
कार्ड लिने प्रक्रिया
प्यान कार्ड हराएको खण्डमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा गई आफ्नो व्यक्तिगत विवरण खुलाएर निवेदन दिनुपर्दछ । निवेदनमा नागरिकता नम्बर र स्थायी ठेगाना (हालको गाउँपालिका वा नगरपालिका) उल्लेख गर्नुपर्दछ । सम्बन्धित कार्यालयले सोही निवेदनका आधारमा प्यान कार्ड उपलब्ध गराउँछ ।
पैसा तिर्नुपर्छ कि पर्दैन?
प्यान कार्ड हराएको खण्डमा पुनः लिनको लागि १०० रुपैयाँ शुल्क लाग्छ । राजस्व कार्यालयमै रहेको बैंक काउन्टरमा सम्बन्धित कर कार्यालयको नाउँमा सो शुल्क जम्मा गरी भौचर निवेदनसाथ पेश गर्नुपर्दछ ।
सम्बन्धित कार्यालय कसरी थाहा पाउने?
...







