प्रयोगकर्ताको अनुमति बिना नै प्रयोगकर्ताहरूको पुरानो मोडलको आइफोनहरूलाई स्लो गरेको आरोपमा एप्पललाई फेरी अर्को चर्को जरिवाना परेको छ । यस पटक एप्पलले ५० करोड अमेरिकी डलर ( नेरु ५० अर्ब भन्दा बढी ) जरिवाना स्वरूप तिर्नु पर्ने भएको छ ।
सन् २०१६ मा आइफोन सिक्स एसका प्रयोगकर्ताहरूले आफ्नो नयाँ आइफोन प्रयोग गर्दा गर्दै बन्द हुने गरेको गुनासो गरेका थिए । यही गुनासोलाई नै मध्यनजर गर्दै एप्पलले नयाँ अपडेट निकालेको थियो जसले आइफोन सिक्स एस लगायतका अन्य मोडलहरूलाई आफैं बन्द हुनबाट रोक्यो ।
तर, उक्त अपडेटले उल्टै आइफोनहरूलाई प्रयोगकर्ताको अनुमति बिना नै स्लो गरेको भेटियो । सन् २०१७ को डिसेम्बरमा एप्पलले पुराना आइफोनहरूलाई स्लो गर्दै आएको कुरालाई स्वीकार गर्दै प्रेश विज्ञप्ति पनि प्रकाशन गरेको थियो ।
नयाँ आइफोन खरिद गर्नलाई प्रोत्साहन गर्नका लागि पुराना आइफोन स्लो गराएको आरोप लगाउँदै थुप्रै प्रयोगकर्ताहरूले एप्पल विरुद्ध उजुरी दायर गरेका थिए । सो उजुरीहरूको टुंगो लगाउँदै एप्पलले न्यूनतम ३१ करोड डलर र अधिकतममा ५० करोड अमेरिकी डलर तिर्नु पर्ने भएको छ ।
रिउटरसका अनुसार आइफोन सिक्स, सिक्स प्लस, सिक्स एस, सिक्स एस प्लस, सेभेन, सेभेन प्लस र एस इ का प्रयोगकर्ताहरूले एप्पलबाट २५ डलर बराबरको रकम फिर्ता पाउने भएका छन् । सो रकम कम वा बढी हुन सक्ने सम्भावना भने रहेको छ ।
...




