आज फागुन २० गते, नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सव । प्राधिकरणले कार्यालय परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिविडा ।
बिहान १० बजेका लागि तय कार्यक्रम करिब १०ः२० बजेबाट सुरु भयो । अर्थमन्त्रीसँगै सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदी पनि कार्यक्रमको विशेष अतिथिका रुपमा सहभागी थिए । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले हालसम्मका प्रगतिसँगै भावी योजना पनि सुनाए ।
त्यसपछि प्राधिकरणले बनाएको इन्टरनेट स्पिड टेस्ट एप्स लन्च गर्ने कार्यक्रम थियो । उद्घोषीकाले कार्यक्रमको प्रमुख अतिथिका हैसियतमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडालाई एप्स लन्च गर्न भनिन् । खतिवडा लन्च गर्न तयार भए तर ‘इन्टरनेट स्लो’ भएका कारण लन्च हुन पाएन । करिब १० मिनेटसम्म पनि इन्टरनेट राम्रोसँग नचलेपछि बाँकी कार्यक्रमलाई अघि बढाउन खोजियो ।
यतिबेलासम्म प्राधिरकणका कर्मचारीहरु आफ्नो बचाउमा इन्टरनेटका कारण समस्या भएको भन्दै रातोपिरो भए । सहभागी पत्रकारहरुले पहिले नै चेकजाँच गरेर राख्नुपथ्र्यो नि भन्दा उनीहरुको एकै स्वर आयो, ‘गर्न त गरेको हो तर खोइ के भयो अहिले ।’
...




