काठमाडौं : अनलाइनमार्फत व्यापारिक कारोबार गर्ने कम्पनी (अनलाइन बिक्री प्लेटफम) ले अब ५० प्रतिशत स्वदेशी उत्पादन बिक्री गर्नुपर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सातादेखि कार्यान्वयनमा ल्याएको वस्तुको प्रत्येक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) नियमावलीमार्फत यस्तो व्यवस्था गरेको हो। नियमावलीले अनलाइन बिक्रीसम्बन्धी व्यापारिक कारोबार गर्ने कम्पनीले विदेशी वस्तुसँग मेल खाने प्रकृतिको वस्तु स्वदेशमा उत्पादन भएको अवस्थामा विदेशी वस्तु बिक्रीगर्दा त्यसको ५० प्रतिशत स्वदेशी पनि बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।
‘अनलाइन सपिङसम्बन्धी व्यापारिक कारोबार गर्ने कम्पनीले इजाजत लिने बेलामै यससम्बन्धी कार्ययोजना बनाएर उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ’, मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भनिन्। स्वदेशी र विदेशी वस्तुको बिक्रीवितरणको परिमाण अनिवार्य रूपमा राख्नुपर्ने भन्दै नियमावलीले बिक्री भएको वस्तुको मूल्य र मौज्दात रहेको मूल्य जोड्दा स्वदेशी वस्तुको बिक्री मूल्य कुल कारोबार मूल्यको कम्तीमा ५० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ।
इजाजत प्राप्त गर्ने कम्पनीले स्वदेशमा उत्पादन नहुने वस्तुको प्रत्यक्ष बिक्री गर्दा त्यस्ता वस्तु स्वदेशमा उत्पादन नहुने विषयमा पुष्टि हुने प्रमाण उपलब्ध गराउनुपर्ने नियमावलीले व्यवस्था गरेको छ। वस्तु उत्पादन भएको मुलुकको आधिकारिक निकायबाट जारी भएको उत्पतिको प्रमाणपत्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा उपलब्ध गराउनुपर्नेछ। विभिन्न प्रकारका डिजिटल प्लेटफर्मको प्रयोग गरी उपभोक्ताबाट अत्याधिक मूल्य असुल गरी ‘अनलाइन सपिङ’ मार्फत सञ्चालन भइरहेका व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन मन्त्रालयले यो नियमावली ल्याएको हो।
...





