काठमाडौं — नेपालको कुल जनसंख्याको करिब एकतिहाइ नागरिकमा मोबाइल बैंकिङ पहुँच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै मोबाइल बैकिङको पहुँच पनि बढेको हो ।
गत पुससम्म बैंक तथा वित्तीय संस्थाबाट ९८ लाख ६ हजार ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका छन् । गत वर्षको सोही अवधिको तुलनामा गत पुससम्म करिब ५३ प्रतिशत बढी हो । पछिल्ला तीन वर्षको तथ्यांकअनुसार हरेक वर्ष औसत ३० लाखभन्दा धेरै मोबाइल बैंकिङका ग्राहक थपिएका छन् ।
नेपालको कुल जनसंख्या करिब ३ करोड पुगेको केन्द्रीय तथ्यांक विभाग (सीबीएस) को पछिल्लो तथ्यांक छ । त्यसका आधारमा हालसम्म करिब एकतिहाइमा मोबाइल पहुँच पुगेको विश्लेषण गरिएको हो । यसको अर्थ एक करोड नेपालीको पहुँचमै मोबाइल बैंकिङ पुग्यो भन्ने होइन । एउटै नागरिकका एकभन्दा बढी बैंकमा निक्षेप खाता हुन्छ । हरेक निक्षेप खातामार्फत मोबाइल बैंकिङ सुविधा लिन सकिन्छ । यसकारण मोबाइल बैंकिङका ग्राहक बढेअनुसार त्यति नै नेपालीसमक्ष सुविधा पुगेको हुँदैन ।
गत पुससम्म ७ सय ४५ पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । पछिल्ला दुई वर्षमा बैंकहरूले ५ सयभन्दा बढी शाखा विस्तार गरेका छन् । शाखा विस्तारले नयाँ व्यक्तिलाई बैंकिङ प्रणालीभित्र ल्याएको छ । यसकारण सो अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता पनि बढेको जानकारहरू बताउँछन् । सजिलो, छिटो र आफूलाई पायक पर्ने स्थानबाटै कारोबार गर्न सकिने भएकाले मोबाइल बैंकिङका प्रयोगकर्ता बढेको उनीहरूको भनाइ छ ।
०७५ पुससम्म ६३ लाख ९४ हजार ९ सय १६ जना ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएका थिए । ०७४ मा यस्तो संख्या ३५ लाख ३० हजार २ सय २७ थियो । ‘नगद कारोबारलाई निरुत्साहित गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीति हो,’ राष्ट्र बैंकका सहप्रवक्ता गोविन्दप्रसाद नागिलाले भने, ‘अबको प्राथमिकता डिजिटल भुक्तानी हो ।’
बैंक तथा वित्तीय संस्थामा आधुनिक बैंकिङ सुविधा बढेसँगै गैरबैंकिङ संस्थाले पनि भुक्तानी प्रणालीको अनुमति पाएपछि मोबाइल बैंकिङका ग्राहक तीव्र रूपले बढेको उनले बताए । ‘मोबाइल र इन्टरनेट बैंकिङलाई अझै व्यापक बनाउनु छ, यसका लागि विभिन्न नीतिगत व्यवस्थाका साथै आवश्यक पूर्वाधार विकास गर्दै छौं,’ नागिलाले भने ।
मोबाइल बैंकिङ विस्तारले राष्ट्र बैंकको नोट छपाइ, भण्डारण, यातायातलगायत विभिन्न (भेरियबल) खर्च तथा बैंक तथा वित्तीय संस्थाको नोट व्यवस्थापन खर्च कम हुन्छ । यसकारण अब सबै पसलमार्फत वित्तीय कारोबारमा संलग्न प्रयोगकर्ता र सेवा प्रदायक दुवैलाई मोबाइल एवं इन्टरनेट बैंकिङको सञ्जालमा जोड्नुपर्ने राष्ट्र बैंकको धारणा छ ।
सरकारको नगदरहित कारोबार नीतिलाई प्रोत्साहन गर्न पनि मोबाइल र इन्टरनेट बैंकिङलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने विज्ञहरू बताउँछन् । यसका लागि नियामक निकायले आफ्नो नियामकीय एवं सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्नुपर्छ ।
...





