सन् २०१९ मा विश्व बजारमा ३.४६ ट्रिलियन डलर बराबरको व्यापार अनलाइन (इ—कमर्श) मार्फत् भयो । विश्व बजारको कूल कारोबारको यो १६.४ प्रतिशत हो । कुल व्यापारमा इ—कमर्शको हिस्सा प्रत्येक वर्ष बढ्दै गइरहेको छ । २०१८ मा २.९३ ट्रिलियन डलरको कारोबार भएकोमा २०१९ मा १७.९ प्रतिशतले बढ्यो । जबकी कुल व्यापार जम्मा ३.४ प्रतिशतले मात्रै बढेको छ । कुल व्यापारमा अनलाइन व्यापारको हिस्सा घटाउने हो भने यो वृद्धिदर ०.९६ प्रतिशतमात्रै हुन्छ ।
कुनै बजारको वृद्धिदर १ प्रतिशतभन्दा कम हुन्छ भने त्यसलाई ‘स्टेगनेटेड मार्केट’ भनिन्छ । यो अर्थमा इ—कमर्श इतरको विश्व बजार त्यही अवस्थामा पुगिसकेको छ । १ प्रतिशतको यो वृद्धिमा पनि विकासशील मुलुकको हिस्सा बढी छ । विकसित मुलुकमा अनलाईन इतरको व्यापारको हिस्सा नकारात्मक छ । तर इ—कमर्शको बजार भने निकै उच्च दरमा बढ्दै गएको छ ।
भनिन्छ, अहिले विश्वका सबैभन्दा ठूला विक्रेतासँग न फ्याक्ट्री छ, न त वायरहाउस नै । नयाँ जमानामा फ्याक्ट्री र वायर हाउसलाई सूचना प्रविधिले ‘रिप्लेस’ गरिदिएको छ ।
विश्वको सबभन्दा ठूलो अनलाइन बजार अमेजनले सन् २००७ मा इ–कमर्श कम्पनी अमेजनले ५.७६ विलियन अमेरिकी डलर खुद आम्दानी गरेको थियो । २०१९ को अन्त्यसम्म आइपुग्दा यो आम्दानी ८७.४४ विलियन अमेरिकी डलर पुगेको रिपोर्ट निकाल्यो । यी दुई समयबीचको औसत वार्षिक वृद्धिदर २५.४४ प्रतिशत हुन आउँछ । विकसित मुलुकहरुमा आम्दानीमा २५ प्रतिशतको चक्रीय वृद्धिदर हासिल गर्नु चानचुने कुरा होइन ।
उता चीनको अनलाइन ट्रेडिङ कम्पनी अलिबाबाले नोभेम्बर ११ का दिन १६ घण्टा ३० मिनेटको अवधिमा ३०.८ विलियन अमेरिकी डलर बराबरको कारोबार गर्दै छोटो समयमै सर्वाधिक कारोबार गरेको इतिहास बनायो । नोभेम्बर ११ लाई विश्व किनमेल दिवस पनि भनिन्छ । सो दिन दिइएको आकर्षक अफरका कारण खरिदकर्ताहरु त्यसमा आकर्षित भएका हुन् । अनलाइन कारोबारहरुमा अफर तथा अन्य नीतिगत निर्णयहरुको प्रभाव पनि बढी हुन्छ ।
नियमनमा जतिजति ढिला हुँदै जान्छ, उतिउति त्यसको नकारात्मक असरहरु थपिँदै जान्छ । मान्छेमा यस्तो बजारप्रतिको विश्वास गुम्ने अवस्था आयो भने विश्वास दिलाउन भन्दा गुमेको विश्वास फर्काउन दशौं गुणा अप्ठ्यारो हुन जान्छ । बजार र नियामकको सम्बन्ध गोठालो र वस्तुभाऊ जस्तै हुन्छ । बजार जहिले पनि अघिअघि हिँड्छ, नियामक त्यसको पछि पछि । तर गोठालो धेरै पछि प¥यो भने चराउन लगेका वस्तुभाऊ पनि अर्काको बालीमा पस्छ । हाम्रो अवस्था यस्तै छ ।
...





