राजधानीमा जारी ‘प्रभु पे क्यान इन्फोटेक २०२०’ मा पाँचौ दिन समेत अवलोकनकर्ताको घुइँचो लागेको छ, त्यस कारण भोली अंतिम दिन ६ बजे सम्म प्रदर्शनी चल्ने छ ।
बुधबारसम्म चल्ने प्रदर्शनीमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा, सेक्युरिटी, अनलाइन पेमेन्ट, ई–कमर्स, अनलाइन लर्निङ सफ्टवेयर लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।
त्यस्तै युवा उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानिरहेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि मंगलबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो ।
इन्फोटेककै दौरान स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिस्पर्धा र जुनियर इन्नोभेटरको प्रदर्शनी समेत गरिएको छ । सोमबारदेखि रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिस्पर्धा सञ्चालन भइरहेकोको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिए ।
त्यस्तै ई–स्पोर्टस च्याम्पियनसिप अन्तर्गत मंगलबार डोटा टु तथा सीएस गो खेलको सेमिफाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ । बुधबार उत्कृष्ट दुई टोलीबीच फाइनल भिडन्त हुने छ ।
यसैबीच इन्फोटेकमा विशिष्ट व्यक्तिहरुले समेत पुग्ने क्रम जारी छ । मंगलबार सहरी बिकास राज्यमंत्री माननीय रामबीर मानन्धर, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० राष्ट्रिय सभा संसदीय दलका नेता दिनानाथ शर्मा, पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साह, मिस नेपाल २०१० सदीक्षा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरुले मेला अवलोकन गरेका छन् ।
...





