छिमेकी देशहरूका स्टक एक्सचेन्जहरूले प्रयोग गरेको सफ्टवेयरको बारेमा जान्नु भन्दा पहिले भुटान स्टक एक्सचेन्जले सफ्टवेयर जडान गर्दा भोगेको समस्याका बारेमा चर्चा गर्न आवश्यक छ ।
भुटानमा पनि एक मात्र स्टक एक्सचेन्ज छ । भुटानको शेयर बजार नेपालको भन्दा निकै सानो छ । रोयल सेक्युरिटी अफ भुटानले दोस्रो बजार चलाउँछ । सन् २०१८ को वार्षिक विवरण अनुसार शेयर कारोबार गरेर रोयल सेक्युरिटीले अघिल्लो वर्ष १८ लाख रुपैयाँ मात्रै आम्दानी गरेको देखिन्छ ।
गत साताको त्यहाँकाे तथ्याङ्क अनुसार दोस्रो बजारमा २१ कम्पनी सूचीकृत छन् । त्यहाँ ६ वटा ब्रोकर कम्पनीले काम गर्छन् । उसले कल मार्केट चलाउँछ । कल मार्केट भनेको स्टकले तोकेको दिन मात्रै कारोबार गर्ने हो ।यही मार्केट अन्तर्गत उसले सातामा तीन दिन शेयर कारोबार गराउँछ तर पाँचै दिन आदेश दाखिला गराउन पाइन्छ । तर कारोबार भने सोमबार,बुधवार र शुक्रबार मात्रै हुन्छ ।रोयल सेक्युरिटीकाे कुल बजार पूँजीकरण करीव ५२ अर्व रुपैयाँ छ ।
केही वर्ष अघि उसले बजारलाई अटोमेसनमा लैजाने योजना बनायो । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीकालागि उसले विश्वका स्टक एक्सचेन्जहरूसँग सहकार्यको हात फैलायो । पाकिस्तानको इन्फो टेक भन्ने सफ्टवेयर कम्पनीले उसलाई सित्तैमा सफ्टवेयर दिने बतायो । तर एनुअल मेन्टिनेन्स चार्ज (एएमसि) भने तिर्नु पर्ने शर्त राख्यो । सित्तैमा पाउने भएपछि भुटानले खुशी हुँदै उक्त सफ्टवेयर लियो । उसले एएमसिको भने मतलवै गरेन । सफ्टवेयर करिब ५० करोड माथि मूल्य भएको थियो । विश्वमा चलन चल्तीको एएमसि चार्ज १० प्रतिशतदेखि २५ प्रतिशत सम्म हुने गर्छ ।
५० करोड रुपैयाँको कम्तीमा १० प्रतिशत मात्रै चार्ज जोड्दा पनि ५० लाख रुपैयाँ बुझाउनु पर्छ । फेरि आफू अनुकूल बनाउँदा सफ्टवेयर कम्पनीलाई चेन्ज मोडिफिकेसनको भिन्नै चार्ज तिर्नु पर्छ । अब भुटान स्टक एक्सचेन्जलाई हात्ती पाले बराबर भयो । उसको गत वर्षकै कुल आम्दानी २४ लाख रुपैयाँ छ भने उसको केही वर्ष अघिको आम्दानी अझै कम थियो । उसले वर्षको एएमसि चार्ज ५० लाख रुपैयाँ भन्दा बढी तिर्नु परेपछि उसले हैरान भएर उक्त सफ्टवेयर इन्फो टेककै जिम्मा लगायो ।
रोयल सेक्युरिटीले हाल आफ्नै देशको लोकल सफ्टवेयर कम्पनीले बनाएको सफ्टवेयर चलाउन थालेको छ । राम्रो र टेस्टेड सफ्टवेयर पाएर मात्र के भयाे र ? एएमसि तिर्न नसकेपछि आफ्नो कारोबार अनुसारको सफ्टवेयर जडान गर्नु पर्ने बाध्यतामा राेयल सेक्युरिटी पुग्याे । अहिले लोकल सफ्टवेयरले काम गरिरहेको छ ।
श्रीलङ्काको कोलम्बो स्टक एक्सचेन्जको कथा पनि उत्तिकै रोचकै छ । कोलम्बो स्टक एक्सचेन्जले बजार अटोमेशन गर्ने भयो । उसले पनि धेरै देशबाट अनेकाैँ सफ्टवेयरको प्रस्ताव पायो । तर उसको वार्षिक आम्दानीले सफ्टवेयरको एमसि तिर्नै कठिन हुने देखियो । अन्त्यमा उसले पनि आफ्नै देशको सामान्य सफ्टवेयर निर्माण गर्ने कम्पनी मिलिनियम टेक्नोलोजीलाई जिम्मा दियो । उसले निर्माण गरेको सफ्टवेयर कोलम्बो स्टक एक्सचेन्जले चलाउन सुरु गरेपछि मिलिनियमको व्यापार तीव्र गतिमा जान थाल्यो । सामान्य सफ्टवेयर बनाउने कम्पनीको प्रगति यति माथि उक्लियो कि उक्त कम्पनीलाई पछि लण्डन स्टक एक्सचेन्जले खरिद गर्यो । हाल उसले निर्माण गरेका स्टकसँग सम्बन्धित बाहेकका सफ्टवेयर लण्डन स्टकले बेच्ने गरेको छ ।





