तराइको कुनै एक गाउँमा एक मानिस बस्थे । उनको नाम कलकत्ते थियो । उ धेरै समय भारतको कलकत्तामा बसेर फर्किएकोले गाउँलेले उसको नाम कलकत्ते राखिदिएका थिए ।
गाउँका सबैले उसलाई कलकत्ते भनेरै चिन्थे । एक दिन कलकत्ते कि श्रीमती सुत्केरी हुन लागेकी थिइन् । गाउँका जाने बुझेका महिला उसको घरमा जम्मा भए । श्रीमती भित्र कोठामा प्रसव पिडामा थिइन् भने कलकत्ते बाहिरै यता उता गरिरहेका थिए । एकाएक भित्रबाट एक महिला बाहिर निस्किइन् र कलकत्तेलाइ भनिन् 'जहान सुत्केरी हुन लागेकी छन् । झट्ट गएर बजारबाट सुत्केरी सामाग्री किनेर ल्याउनुस् ' यति भन्दै महिला कोठा भित्र पसिन् ।
यता कलकत्ते गोरुगाडा लिएर निस्किए । बजारमा पुगेर औषधि पसलमा उनले सुत्केरी सामाग्री मागे। औषधि पसलेले सानाे बट्टा झिकेर दियो । जसको आकार र मूल्य कलकत्तेले सोचे भन्दा निकै कम थियो । उसले सोचेको थियो सुत्केरी सामाग्री भनेको धेरै ठूलाे होला, जसलाइ बोक्न गाह्राे हुन्छ ।
कलकत्तेलाई जस्तै भ्रम सफ्टवेयरको बारेमा नेपाली समाजकाे केही तप्कामा अझै देखिन्छ । सफ्टवेयर भनेको निकै ठूलो चिज होला भन्ने तर वास्तवमा सफ्टवेयर एउटा सामान्य पेन ड्राइभमा बाेक्न सकिन्छ ।
बजारमा यति बेला नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्रयोग गरिरहेको सफ्टवेयरको बारेमा यस्तै धारणा यदा कदा सुनिन्छ ।
यसैले, मेरो लगानीका उप सम्पादक सुवास निरौलाले सफ्टवेयर भनेको के हो, कसरी निर्माण हुन्छ, मूल्य कति पर्छ ? अन्य देशका स्टक एक्सचेन्जमा कस्तो अभ्यास छ, तिनीहरूको मूल्य कति पर्छ ? नेप्सेले किनेको महँगो हो कि सस्तो हो ? विदेशी भए कति पर्थ्यो,नेप्सेले कतिमा किनेको हो ?
विज्ञहरुलाई सोधेर यी यावत प्रश्नमा अाधारित भएर यो लेखको श्रृखंला तयार पारेका छन् । यसकाे शुरूवात सफ्टवेयर केहो भन्ने प्रश्नकाे उत्तरबाट गर्दैछौ ।





