काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयकले यस क्षेत्रमा सुशासन ल्याउने बताएका छन् । विधेयकले सामाजिक सञ्जालदेखि सूचना प्रविधि व्यवसायको व्यवस्थापन गर्ने उद्देश्य राखेकाले यसले मुलुकलाई ‘डिजिटल इकोनमी’ बनाउन सघाउने उनको भनाइ छ । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको २६औं क्यान इन्फोटेक उद्घाटनका अवसरमा बाँस्कोटाले सूचना प्रविधि क्षेत्रमा सुशासन देख्न नचाहनेले विधेयकको विरोध गरेको आरोप लगाए ।
‘सूचना प्रविधि क्षेत्रको विकास चाहने निजी क्षेत्रले नै यसको विरोध गरेको भेटियो,’ मन्त्री बाँस्कोटाले भने । सूचना प्रविधि विधेयक विद्युतीय कारोबार ऐनभन्दा पनि खुकुलो भएको उनको दाबी छ । डिजिटल सुशासन हुन नदिनेले यसको विरोधमा लागिपरेको उनको भनाइ छ । विधेयकले डिजिटल सुशासनको प्रबन्ध गर्ने उनले बताए ।
‘अभिव्यक्ति स्वतन्त्रता भनेर बेस्सरी कराउने र डिजिटल सुशासन हुन नदिने खेल भइरहेको छ,’ उनले भने, ‘अरूले नबुझे पनि क्यानले यो विधेयकलाई बुझ्नुपर्छ ।’ यद्यपि सूचना प्रविधि विधेयकमा राखिएको दण्ड तथा सजायको प्रावधानलाई घटाइने उनले प्रतिबद्धता जनाए ।





