सेयरबजार कारोवारमा पनि सूचना प्रबिधिको प्रयोगलाई नबढाई सुखै छैन । भौतिक समानको कारोवार त अनलाईनबाट हुन्छ भने सेयर त झन अभौतिकीकरण भई सकेको छ । यो त झन् सजिलैसँग पूर्ण अनलाईनमार्फत कारोवार हुन सक्नु पर्ने हो ।
यसको कारोवार पद्धति साधारण,सरल र सजिलो छ । जस्तो कि सेयर किन्ने लगानीकर्ताले अनलाईन सिष्टम मार्फत खरिद अर्डर दिने,सिष्टमले अर्डर बमोजिम पुग्ने रकम लगानीकर्ताको बैंक खातामा छ कि छैन चेक गर्ने, यदि पुग्ने रकम छ भने अर्डर सफल हुने, छैन भने रकम अपुग भएको जानकारी लगानीकर्तालाई दिने ।
त्यस्तै सेयर बिक्री गर्ने लगानीकर्ताले अनलाईन सिष्टम मार्फत बिक्री अर्डर दिने, अर्डर बमोजिमको सेयर लगानीकर्ताको डिम्याट खातामा छ कि छैन सिष्टमले चेक गर्ने, यदि छ भने अर्डर सफल हुने, छैन भने सेयर संख्या अपुगको जानकारी लगानीकर्तालाई दिने ।
कारोवार सफल भइसके पछि किनेको सेयर स्वतः किन्ने लगानीकर्ताको डिम्याट खातामा राखिदिने र बिक्री भएको सेयर बिक्रीकर्ताको डिम्याट खाताबाट घटाउने र सेयर बिक्री भए वापत बिक्रीकर्ताले पाउनु पर्ने रकम बैंक खातामा राखिदिने ।
यहाँ केवल डिजिटल संख्याहरुलाई थप घट गरे पुग्छ,भौतिक बस्तु वा साधन हस्तान्तरण गरिराख्नु पर्दैन । त्यसैले सूचना प्रविधिको क्षेत्रमा यस्तो कारोवार प्रकृयालाई साधारण र सरल भनिएको हो । तर धितोपत्र बोर्ड वा नेप्सेलाई सूचना प्रविधि बिषयमा कम ज्ञान भएर भनौं वा अवको युग कता तिर जाँदैछ भन्ने कुरा बुझ्न सक्ने ब्यवस्थापकीय क्षमता नभएर हो । आम लगानीकर्ताले पूर्णस्वचालित अनलाईन सिष्टम पाउन सकेका छैनन् । अहिले संचालनमा आएको नेप्सेको टिएमएस लागयतका सूचना प्रविधिमा वारम्वार समस्या आईरहेको पाईन्छ । लगानीकर्ताहरु यो सिष्टमबाट सन्तुष्ट हुन सकेका छैनन् ।





