२८ माघ, काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।
अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो ।
उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले यस वर्षको बजेटमार्फत गरेको थियो । पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिए पनि केही ढिलोगरी आजबाट सुरु भएको हो ।
कार्यक्रम शुभारम्भ भएसँगै अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् ।





