नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (NCC) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा समान्य सुधार भएको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ६४ लाख रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार भएसँगै बैंकको नाफा पनि सामान्य बढेको हो।
पुस मसान्तसम्ममा बैंकले १ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २० करोड बढी हो। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा २ करोड ८१ लाख रुपैयाँ बढेर १ अर्ब ५ करोड ९३ लाख रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी उल्लेख्य बढेपनि इम्पेरिमेन्ट चार्ज बढ्दा सञ्चालन मुनाफा प्रभावित भएको हो। बैंकको इम्पेरिमेन्ट चार्ज चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६ करोड ३३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
खुद नाफा सामान्य बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी समीक्षा अवधिमा ४१ पैसा बढेर १८ रुपैयाँ ६० पैसा कायम भएको छ।









