प्रविधिका कारण परिवर्तन भइरहेको विश्वका लागि सोहीअनुसारको सीपयुक्त जनशक्ति आवश्यक
काठमाडौँ — डिजिटल कनेक्टिभिटीले संसारभरका मानिसलाई अवसरको नयाँ ढोका खोलेको विज्ञहरूले बताएका छन् । कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणको दोस्रो दिन शनिबार आयोजित ‘द फ्युचर अफ डिजिटल वर्ल्ड’ नामक सत्रमा विज्ञहरूले डिजिटल कनेक्टिभिटीका कारण बजार र अवसरको विस्तार भएको विचार राखे ।
डिजिटल कनेक्टिभिटीका कारण विश्वभर मानिसले एकआपसमा सेवा तथा वस्तुहरूको माग र आपूर्ति गर्न सकेको इटालीको योक्स नेट ए पोर्टर ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अल्बर्टो ग्रिङ्गोलले बताए । ‘कनेक्टिभिटीकै कारण मानिसले आपसमा जानकारी आदानप्रदान मात्रै होइन, कारोबारका माध्यमबाट धन पनि कमाउन सकेका छन्,’ उनले भने, ‘यसले मानिसको जीवनस्तर पनि उकासेको छ ।’
प्रविधि संसार जोड्ने एक माध्यम भएको भन्दै उनले यसबाट जोडिएर वस्तु तथा सेवाको व्यापार भएको, कारोबारमार्फत धनआर्जन भएको उदाहरण प्रस्तुत गरे । प्रविधिको भविष्य, यसको चुनौती र अवसरका विषयमा चर्चा गर्दै अल्बर्टोले प्रविधिका कारण परिवर्तन भइरहेको विश्वका लागि सोहीअनुसारको सीपयुक्त जनशक्ति आवश्यक हुने उल्लेख गरे । भविष्यका लागि तयार रहने गरी मानिसले आफूलाई अपडेट गर्नुपर्ने उनको भनाइ छ । छलफलमा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले प्रविधि संसारका हिसाबले नेपाल प्रारम्भिक चरणमा रहेको टिप्पणी गरे । यस्तो अवस्थामा नेपालमा डिजिटल इकोसिस्टम विकासका लागि गर्नुपर्ने काममा तथ्यांकहरू महत्त्वपूर्ण हुने उनको धारणा थियो ।
...





