काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आन्तरिक उत्पादन तथा रोजगार सिर्जनालाई प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न उद्यमी संगठनहरुसँग साझेदारी गर्ने भएको छ ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो । यी निकायका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने उद्देश्य परिपूर्तिका लागि बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते काजग उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् ।








