२० माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक वमबहादुर मिश्रले सामाजिक सञ्जालमा विज्ञापन गर्न नरोकिएको बताएका छन् । केही दिनअघि सार्वजनिक गरिएको सूचनाका आधारमा अब सामाजिक सञ्जालमा विज्ञापन नै गर्न नपाइने भएको भनेर भ्रम परेको भन्दै उनले नियमन गर्न मात्रै खोजिएको बताए ।
अहिले विज्ञापन गर्ने गरिएको तर त्यसबापतको भुक्तानी दिँदा वैधानिक च्यानल प्रयोग नभएको गुनासाहरू आएकाले त्यसतर्फ सचेत रहन आग्रह गरिएको कार्यकारी निर्देशक मिश्रले बताए । ‘कसैले विज्ञापन गर्न खोज्छ भने पाउँछ, यदि नपाउने कुनै ऐनमा छ भने नपाउला,’ उनले भने, ‘तर विज्ञापन गरेबापत विदेशी मुद्राको भुक्तानी दायित्व खडा हुन्छ भने यो सूचना आकर्षित हुन्छ ।’
विदेशी मुद्राको कारोबार गरी गैरकानूनी हिसाबले भुक्तानी भने दिन नपाइने उनले बताए । भुक्तानी दिँदा वा लिँदा वैधानिक च्यानल प्रयोग गर्नुपर्ने भन्दै उनले विदेशी मुद्राको कारोबार भए अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्ने मिश्रले बताए ।
...





