काठमाडौं : सरकारले काठमाडौं उपत्यकाबाहेकका सबै जिल्ला र स्थानीय तहसहित १६ हजार स्थानमा निःशुल्क इन्टरेट पुर्याउने भएको छ। चालू आर्थिक वर्षभित्र देशभरका सबै स्थानीय निकायको कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने गरी काम गरिरहेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो इन्टरेट सेवा सुविधाका लागि विभिन्न १८ वटा प्याकेज बनाएर ७४ वटै जिल्लामा पुर्याउने कामलाई तीव्रता दिइरहेको छ।
‘देशभर गाउँ गाउँसम्म तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने योजनाअनुसार विभिन्न ३८ जिल्लाका करिब नौ हजार स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याइसकेका छौं’, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले अन्नपूर्णसँग भने। अब बाँकी जिल्लामा पनि यही आवभित्रै इन्टरनेट पुर्याइसक्ने गरी योजना बनाएर ठेक्का लगाएका छौं। चालू आवभित्रै प्राधिकरणले केही सीमित जिल्लामा बाहेक अन्यको सबैजसो गाउँमा निःशुल्क तीव्र गतिको इन्टरनेट पुर्याउने जानकारी उनले दिए।
प्राधिकरणले विभिन्न १८ वटा प्याकेज बनाएर इन्टरनेट सेवाप्रदायकलाई यस्तो सेवा विस्तारको जिम्मा दिएको हो। सो अनुसार हाल १० वटा प्याकेजअन्तर्गत ३८ जिल्लाको काम सकिएर इन्टरनेट सञ्चालनमा आइसकेको छ। पाँच वटा प्याकेजमा रहेका २२ जिल्लामा काम भइरहेको छ भने १४ जिल्लाका लागि तय भएका तीन वटा प्याकेजको भने ठेक्का हुन बाँकी छ।





