राष्ट्रबैंकले चुक्ता पूँजीको २५ प्रतिशत डिबेन्चर जारी गर्न अनिवार्य गरेपछि अहिले बाणिज्य बैंकहरु धमाधम डिबेन्चर जारी गर्न थालेका छन् । यसैक्रममा कुमारी बैंकले दश बर्षका लागि १०.२५ प्रतिशत व्याज दिनेगरी जारी डिबेन्चरको समय मंगलवार सकिदैछ ।
यसै सन्दर्भमा कुमारी बैंकका संचालन तथा बजार हेर्ने सहायक महाप्रवन्धक रामचन्द्र खनालसँग मेरोलगानी डटकमले कुराकानी गरेको छ ।
बैंकहरुको डिबेन्चरहरु एकपछि अर्को निस्कने क्रममा छन् । यहाँहरुको पनि बिक्रीको क्रममा छ, कुमारी बैंकको डिबेन्चरमा के फरक बिशेषता छ?
अरु बैंंकहरुले निकालेकोमा र हामीले निकालेको डिबेन्चरमा फिचरमा मात्र फरक हुने हो । धेरैले १० प्रतिशत निकाले तर हामीले १०.२५ निकाल्यौँ । ब्याजदर बाहेक अरु वार्षिक योजनामा पनि हामी फरक छाैं । अरुले ७ वर्षको निकाल्दा हामीले १० वर्षको निकालेका छौँ । यसको प्लस प्वाइन्ट के छ भने,अहिले ब्याजदर तल जाने क्रममा छ । अहिलेको आउटलुक पनि त्यही देखिन्छ । किन माथि जादैन भन्दा एउटा सहमति त भइसकेको छ । यो भन्दा माथि नजाने भनेर । त्यसैले योभन्दा माथि जाने सम्भावना छैन । अब जाने त्योभन्दा तल मात्रै हो । तल जादाँ खेरि हाम्रा लगानीकर्ताहरुले डिबेन्चरमा लगानी गरेको पैसाले दीघर्कालसम्म सुरक्षित प्रतिफल पाँउछन् १०.२५ प्रतिशतले । त्यसैले गर्दा हाम्रो प्रतिफल राम्राे छ, १० वर्षसम्म । त्यसैले गर्दा अरुको भन्दा हाम्रो फरक छ ।
निष्काशनको समय कहिलेसम्म छ ?
मंगलबारबाट बन्द हुँदै छ । अब हामीसँग आज र भाेलीमात्र बाँकी छ ।
डिबेन्चर कति परिमाणको हो?
कुल तीन अर्बको डिबेन्चर हो । तीन अर्बको डिबेन्चरमा प्राइभेट प्लेसमेन्टमा एक अर्ब ८० करोड हो । जुन सम्पूर्ण रुपमा बिकीसकेको छ । अब सर्बसाधारणको लागि एक अर्ब २० करोड हो । त्यो मध्ये हामीसँग अब ३० करोडको मात्र स्टक छ ।





