सन् २०१३ देखि सञ्चालनमा आएको भुक्तानी सेवाप्रदायक कम्पनी सेलकम प्राइभेट लिमिटेडले गत साउनदेखि नेपाली बजारमा विद्युतीय भुक्तानी सेवा ‘सेलपे’ ल्याएको छ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सेलपे छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बनिरहेको छ। यसअघि नेपाल टेलिकम र एनसेलको पिनलेस ई–टपअप रिचार्ज सेवाल्याएको यो कम्पनीले अहिले डिजिटल भुक्तानीका विभिन्न सेवाहरु थप गरेर सेलपे सञ्चालनमा ल्याएको हो।
यसै सन्दर्भमा डिजिटल भुक्तानीको विषयमा सेलकम प्राईभेट लिमिटेडका प्रबन्ध निर्देशक पवन प्रधानसँग सेतोपाटीले गरेको कुराकानीको संपादित अंशः
के हो सेलपे? अन्य डिजिटल पेमेन्ट र यसमा के फरक छ?
सेलपे नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. द्वारा सञ्चालित सेवा हो। यो अरु सेवाभन्दा फरक र सहज छ। यसमा ग्राहकले अरु सेवाहरुमा जस्तो वालेट बनाउनु पर्दैन। भुक्तानी गर्न वालेटमा पैसा तान्नु पनि पर्दैन। सेलपेमा ग्राहकले आफ्नो बैंक खाता नै लिंक गरी आफ्नो भुक्तानीहरु बैंक खातामार्फत् सिधै गर्न सक्छन्।





