चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा मञ्जुश्री फाइनान्स (MFIL) को खुद नाफामा उल्लेख्य सुधार देखिएको छ। फाइनान्सले पुस मसान्तसम्ममा १४ करोड ३३ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १२ करोड ३६ लाख ९२ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले १ करोड ९६ लाख मात्र नाफा कमाएको थियो। खर्च बढेपनि खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाका साथै गैर सञ्चालन मुनाफा बढेपछि फाइनान्सको खुद नाफा बढ्न टेवा पुगेको हो।
चालु आर्थिक वर्षकै पहिलो त्रैमाससम्ममा २ करोड ७५ लाख मात्र खुद नाफा कमाएको यस फाइनान्सले दोस्रो त्रैमासको तीन महिनामा ११ करोड ५७ लाख खुद नाफा कमाएको छ।
नाफा बढेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएसमा पनि उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ रुपैयाँ ९० पैसा रहेको फाइनान्सको ईपीएस चालु आर्थिक वर्षको सोही अवधिमा ३० रुपैयाँ १५ पैसा बढेर ३५ रुपैयाँ ५ पैसा कायम भएको छ। सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ९ करोड ३१ लाख ४० हजार रुपैयाँ रहेको छ।
गत आर्थिक वर्षको मुनाफाबाट १.७५ प्रतिशत बोनस र ९.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको फाइनान्सको चुक्ता पूँजी ८१ करोड ८१ लाख रहेको छ। फाइनान्सको जगेडा कोषमा १६ करोड ३५ लाख ५६ हजार रुपैयाँ सञ्चित छ भने ९ करोड ३३ लाख ७० हजार रुपैयाँ रिटेन्ड अर्निङ्ग छ।






