काठमाडौं : लुम्बिनी विकास बैंकले बुधबार आफ्ना सेयरधनीको नाममा एक सूचना प्रकाशित गरेको छ । बंंैंकले २०७६ साउन २१ गतेसम्म कायम केही सेयरधनीले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट वितरण गरिएको १७.०७% बोनस सेयरमा लाग्ने कर जम्मा नगरेको बताएको छ ।
अहिलेसम्म पनि बोनसमा लाग्ने कर नतिर्ने सेयरधनीको उक्त कर बापतको रकम आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागिएको १५% नगद लाभांशमा समायोजन गरिने भएको छ । यसर्थ, गत वर्षको बोनस कर नतिरेका सेयरधनीले यसपटक नगद लाभांश पाउँदा उक्त कर घटाएर मात्र पाउने भएका छन् । जसका कारण यसपटकको लाभांश केही घटेको देखिनेछ ।
लुम्बिनीको मंगलबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १५% नगद लाभांश र ५% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ । अब केही दिनमै सेयरधनीको बैंक खातामा नगद लाभांश पठाउने क्रम सुरु हुनेछ ।








