दूरसञ्चार कम्पनी सेयर बिक्रीमा ‘क्रस होल्डिङ’ निषेध


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
दूरसञ्चार कम्पनी सेयर बिक्रीमा ‘क्रस होल्डिङ’ निषेध

काठमाडौँ, पुस २८ गते । दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिप्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनियमावली, २०७६ जारी गर्दै यस्तो प्रक्रियामा थप कडाइ गर्ने भएको हो ।
विनियमावलीअनुसार कुनै दूरसञ्चार कम्पनीको सेयर खरिद गर्न चाहने व्यक्तिको अर्को दूरसञ्चार कम्पनीमा लगानी (क्रस होल्डिङ) भएको हुनुहुँदैन । विनियमावलीले कानुन प्रतिकूल दोहोरो लगानी नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै नेपालमा दर्ता भएका दूरसञ्चार कम्पनी वा व्यक्तिको सेयर धारण गर्ने विदेशी (अफसोर) कम्पनीले सम्बन्धित देशमा दर्ता भएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको छ ।
सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनैपर्ने प्रावधान पनि विनियमावलीमा छ । यस्तो स्वीकृतिको व्यवस्था चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद बिक्रीमा मात्र लागू हुनेछ ।
दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रियालाई थप पारदर्शी र त्यसलाई नियामकको जानकारीमा ल्याउने उद्देश्यसहित दूरसञ्चार ऐनको दफा ६२ ले दिएको अधिकार प्रयोग गरेर विनियमावली तयार गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्रीको सम्पूर्ण प्रक्रियाका अड्चन समाधानको व्यवस्था विनियमावलीले गरेको छ, उहाँले भन्नुभयो ।

Read More